- सञ्जय साह मित्र
अहिले दुई किसिमको शिक्षा भन्ने प्रमाणित भएको छ–एकजना अभिभावक चिया खाँदै मनको बह पोख्दै थिए । संस्थागत विद्यालयमा पढ्ने केटाकेटीहरू विद्यालय जान पाएका छन् तर सामुदायिक विद्यालयमा भने अझै पठनपाठन निश्चित छैन, किनभने कोरोनाको जोखिम उच्च छ । संस्थागत विद्यालयहरू पनि औपचारिकरूपमा खुलेका छैनन् तर अधिकांशमा पठनपाठन भइरहेको छ । त्यस्ता संस्थागत विद्यालय जसका अधिकांश विद्यार्थी बसमा आउने गरेका थिए वा होस्टलमा बसेर पढ्ने गरेका थिए, यस्ताको पनि बेहाल छ । स्कूल बस चलेका छैनन् र होस्टलमा अभिभावकले बालबालिकालाई पठाउन मानिरहेका छैनन् । केही बालबालिकाका अभिभावक भने होस्टलमा पठाउन माने पनि होस्टल सञ्चालन गर्न चाहिने आवश्यक सङ्ख्यामा बालबालिका नआउँदा समस्या देखिएको छ । अझै पनि सम्पूर्ण संस्थागत विद्यालय पूर्णरूपमा चलेका छैनन् र चलिरहेकाले पनि घन्टी बजाएर चलाएको पाइएको छैन । औपचारिक कक्षाभन्दा कोचिड्ढो नाम दिएर कक्षा सञ्चालन गरेको भनिरहेका छन् । यद्यपि कक्षा सञ्चालन भइहरेको र कक्षा सञ्चालन केवल संस्थागत विद्यालयको मात्र भइरहेको सन्दर्भलाई नै कतिपय अभिभावकले अहिले दुई थरी शिक्षा भयो भन्न खोजेका हुन् ।
एउटा अवस्था कस्तो छ भने संस्थागत विद्यालयमा प्रायः हुनेखानेका बालबालिकाहरू अध्ययन गर्छन् । हुँदा खानेका बालबालिकाहरू सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । यो शतप्रतिशत सही तथ्याङ्क होइन, तर औसत यही देखिएको छ । मुख्यगरी प्राथमिक तहको विद्यालयमा पढ्ने बालबालिकामा अधिकांश विपन्न समुदायका हुने गरेका छन् र प्राथमिक तहको संस्थागत विद्यालयमा पढ्ने बालबालिका अलि सम्पन्न वा मध्यम वर्गका हुने गरेका छन् । अहिले जब संस्थागत विद्यालयहरू अनौपचारिक नै भए पनि सञ्चालनमा आइसकेका छन्, पढाइमा पछाडि पर्ने उही विपन्न समुदायका बालबालिका परेका छन् । यसरी एकथरी विद्यार्थी घरमा बसेका छन् र अर्काथरी विद्यालयमा पढिरहेका छन् । चिया पसलका अभिभावकको दृष्टिमा शिक्षा दुई किसिमको हुनुलाई अस्वाभाविक मान्नुहुँदैन, किनभने उनले जे देखेका छन्, सोही अभिव्यक्त गरेका छन् ।
गत असार महीनादेखि देशमा नयाँ शैक्षिक सत्र शुरू भएको छ । नयाँ शैक्षिक सत्रको शुरूआत भएपछि धेरै स्थानीय तहले वैकल्पिक माध्यमबाट पठनपाठनलाई अगाडि बढाउने निर्देशन पनि दिएको भनिएको छ । शहरी क्षेत्रमा केही मात्रामा वैकल्पिक विधिबाट पठनपाठन भइरहेको हुनुपर्छ तर ग्रामीण क्षेत्रमा यो प्रभावकारी देखिएको छैन । अझै पनि कतिपय स्थानीय तहले रेडियोबाट पनि पठनपाठन अगाडि बढाएको भनिएको छ तर वास्तवमा श्रोताको अभाव रहेको कसरी मूल्याङ्कन गरिएको छ भने जुन कक्षा सञ्चालन भएको छ, त्यसको खासै प्रतिक्रिया आएको पाइँदैन । जसलाई लक्ष्यित गरेर कक्षा सञ्चालन गरिएको छ, तिनीहरूले त्यति चासो लिएको पाइएको छैन । यसरी रेडियोमार्फत चलाइएको कक्षा त्यति प्रभावकारी नरहेको सुनिएको छ र गत वर्ष पनि सुनिएको थियो ।
अहिले जुन कोभिड–१९ को नयाँ भेरिएन्ट आएको चर्चा गरिएको छ र देशमा जसरी दैनिक कोरोना सङ्क्रमणमा खासै कमी नआएर उतारचढाव भइरहेको छ र जसरी अझै कतिपय पालिकाले कोरोनाको कारण निषेधित क्षेत्र घोषणा गरिरहेको खबर पनि आइरहेको छ, यसले गर्दा विद्यालय सञ्चालनमा जोखिम रहेको स्पष्ट बुझ्न सकिन्छ । अझ पहिलेदेखि नै नयाँ भेरिएन्टले बालबालिकालाई बढी जोखिम रहेको भन्ने आइरहेको छ ।
यस अवस्थामा पनि विद्यालयमा नियमित विद्यार्थी पढ्न आउँदा कोही सङ्क्रमित छ भने धेरैमा सङ्क्रमण फैलिने खतरा विद्यमान हुन्छ । कतिपयको के भनाइ छ भने बजार खुल्यो, बैंक खुल्यो, बस खुल्यो तर विद्यालय किन खुलेन रु त्रिभुवन विश्वविद्यालयले परीक्षा लिन सक्ने तर कक्षा सञ्चालन गर्न किन नसक्ने रु सोझो रूपमा हेर्दा होजस्तो लाग्छ, तर तात्विक रूपमा भने कुरा धेरै भिन्न छ । पहिलो कुरो त बजार, बैंक र बसमा बालबालिकाको उपस्थिति धेरै कम हुन्छ । अहिलेसम्म जे जतिले खोप लिएका छन्, ती सबै प्रौढ हुन् र दोस्रो कुरो परीक्षाको जुन सवाल छ, त्यो कक्षा सञ्चालनभन्दा फरक हुन्छ । परीक्षा नियमित सम्पन्न भयो भने परीक्षार्थीले बढीमा पाँचदेखि सात दिनसम्म उपस्थित हुनुपर्छ । एकै साथ सबैजना बस्नुपर्दैन । यसैगरी एउटा परीक्षादेखि अर्को परीक्षाबीच एक वा दुई दिन ग्याप पनि हुन्छ । तर जब नियमित कक्षा सञ्चालन हुन्छ, अवस्था फरक हुन जान्छ । विद्यालयमा पढ्न जाने विद्यार्थीभन्दा कलेजका परीक्षार्थीको उमेर तथा चेतनाको पनि तुलना गर्नु आवश्यक छ । यसैगरी विद्यालयमा पढाइ हुन थालेपछि हरेक दिन सयौं विद्यार्थी एक साथ बस्नुपर्छ । विद्यालयमा पढ्ने कुनै पनि विद्यार्थीले खोप नलगाएको हुनाले समस्या बढ्ने सम्भावना देखिन्छ । यदि बालबालिकामा कोरोनाको विस्तार कुनै विद्यालयबाट हुन गयो भने निकै भयावह अवस्था आउने जोखिम रहन्छ ।
नेपालमा अहिलेसम्म एउटा जिल्लालाई पूर्ण खोप घोषणा गरिएको छ । यहाँ पूर्ण खोप घोषित जिल्ला भन्नुको अर्थ यो हो कि बालबालिकालाई खोप दिइएको छैन र खोप पाउने उमेरका सबैले खोप पाइसकेका छन् । अझै पनि खोपको निकै कमी छ र खोपको अभाव भएकोले सबैले खोप पाउन सकेका छैनन् । देशमा हरेक दिन कोरोना सङ्क्रमितको जुन तथ्याङ्क सार्वजनिक हुन्छ त्यसमा केही सङ्ख्यामा बालबालिका पनि हुने गरेका छन् । कोरोना सङ्क्रमणको डर तत्काल बिरामी पर्नु वा निको हुनुभन्दा पनि कतिपय सञ्चारमाध्यमले यो पनि बताइरहेका छन् कि कोरोना सङ्क्रमित मानिस निको भइसकेपछि पनि विभिन्न किसिमका रोगको जोखिममा रहन्छ । कतिपय खतरनाक रोग देखिने दाबी गरिएको छ । समाचारहरू आइरहेका छन् । यस कारण पनि बालबालिकालाई सम्भव भएसम्म कोरोना सङ्क्रमणको जोखिमबाट जोगाउनु उचित हुन्छ ।
जोखिम बालबालिकालाई मात्र छ भन्ने होइन । शतप्रतिशत मानिसले खोप नलगाउँदासम्म कोरोनाको जोखिम उत्तिकै रहन्छ । यसको अर्थ यो होइन कि सबैले कोरोना खोप लगाइसकेपछि कोरोना निर्मूल हुन्छ । कोरोनाको खोप लगाइसकेपछि पनि जोखिम रहन्छ । कोरोना खोप लगाउनेलाई पनि कोरोना भाइरसले समात्ने गरेको छ । अहिलेको अवस्था कस्तो देखिएको छ भने धेरैले खोप लगाएका छैनन् र बजारमा सम्पूर्ण गतिविधि सामान्य अवस्थामा आइसकेको छ । यसले गर्दा जोखिम बढेको हो । पहिले पनि यस्तै भएको हो । मलाई केही हुँदैन, म सुरक्षित छु, कोरोना केही पनि होइन जस्ता भ्रमहरू सर्वसाधारणमा गयो र कोरोनाको दोस्रो भयावह लहर देखियो । धेरै क्षति पु¥याएको दोस्रो लहरभन्दा पहिलेको अवस्थामा सामाजिक गतिविधि जस्तो थियो, अहिले उस्तै छ । सरकारको विभिन्न निकायले सावधानीका विभिन्न उपाय अवलम्बन गर्न आग्रह गरिरहँदा, चेतावनी दिइरहँदा पनि सर्वसाधारणको नाकमा मास्क बिरलै देखिन्छ र सर्वसाधारणले भौतिक दूरी पालना गर्ने काम फिटिक्कै गरेका छैनन् । यसले गर्दा जोखिमको सम्भावना उच्च रहेको छ र बालबालिकाहरू झन् उच्च जोखिममा रहेको देखिन्छ । यसरी बालबालिका उच्च जोखिममा छन् भने झन् विद्यालय पठाउनु उचित होला त रु गम्भीर विमर्श हुनु आवश्यक देखिन्छ ।
हो, गत वर्ष पनि धेरै समय पढाइ भएन । एक वर्ष विद्यालय सञ्चालन हुनुपर्नेमा छ–सात महीना मात्र विद्यालय सञ्चालन हुन सक्यो । झन्डै आधा समय पढाइ भएर बालबालिकाको कक्षोन्नति भयो । प्रायः तीनवटा परीक्षा हुनुपर्नेमा कतिपय विद्यालयले एउटा मात्र परीक्षा लिए भने कतिपयले त्यो पनि लिन पाएनन् । सबै विद्यार्थीको कक्षोन्नति भएपछि अधिकांश बालबालिकामा किन पढ्ने त, भन्ने भावना आएको हुन सक्छ । पढ्ने पनि पास गर्छन्, नपढ्ने पनि पास गर्छन् भने पढ्ने दुःख नगर्ने मनोविज्ञान बालबालिकामा पलाउने जोखिम पनि छ । तर विश्वव्यापी महामारीले झन्डै विश्वलाई नै प्रभावित पारिरहेको छ भने कुनै एक क्षेत्रमा चिन्तन गरेर वा नतीजा विश्लेषण गरेर हुँदैन ।
कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको वर्तमान अवस्थामा दैनिक गतिविधि पनि कुन बेला फेरि प्रभावित हुने हो चर्चा चल्न थालेको छ । अस्पताल कोरोना सङ्क्रमितबाट फेरि भरिन थालेको खबर आइरहँदा यो शैक्षिक सत्र गुम्ने चिन्ता बढेको छ । संस्थागत विद्यालयहरूमा कार्यरत शिक्षकहरूमध्ये अधिकांशले तलब नपाएको र बेरोजगारी हुने अवस्थामा पुग्ने कुरा पनि छ । कतिपय लगानीकर्ता विद्यालय बेच्ने सुरसार गर्दैछन् । भाडाको घरमा सञ्चालित विद्यालयका लगानीकर्ताको अवस्था त अकल्पनीय दयनीय बनेको छ । कोरोना महामारीको अवधि लम्बिंदै गर्दा संस्थागत विद्यालयका लगानीकर्ताहरू पलायन हुने जोखिम बढेको छ । विद्यालयमा भौतिक उपस्थितिसहित पढ्न नपाउँदा पढ्ने, परिश्रम गर्ने, पढाइप्रति गम्भीर हुने पक्ष कमजोर बन्दै गएको छ । कोरोनाको जोखिम अवधि लम्बिंदै जFँदा बालबालिकाको पढाइ र पढ्ने मनोविज्ञान कमजोर हुने जोखिम बढ्दै गएको छ ।