बलिराम शुक्ला, बिरुवागुठी, १४ साउन/
नेपाली काङ्ग्रेसमा क्रियाशील सदस्यता विवादका कारण पर्सा जिल्लाका केही वडाको पनि नयाँ क्रियाशील सदस्यता स्थगित गरिएको छ ।
नेपाली काङ्ग्रेसको विधान अनुसार महाधिवेशनका लागि तल्लो तहका सबैभन्दा महत्वपूर्ण मतदाताको रूपमा मानिने क्रियाशील सदस्यता विषयमा छानबिन समितिले बुझाएको प्रतिवेदनमा पर्साका केही वडामा विवादका कारण नयाँ क्रियाशील सदस्यता स्थगित गरिएको प्रतिवेदनमा जनाइएको छ ।
काङ्ग्रेस क्रियाशील सदस्यता छानबिन समिति संयोजक रमेश लेखकले मङ्गलवार पार्टी पदाधिकारी बैठकमा सभापतिलाई बुझाएको प्रतिवेदनमा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं ३ का सबै वडामा स्थगित गरिएको छ भने वीरगंज महानगरपालिका वडा नं २२, २७, २९, र ३१, बहुदरमाई नगरपालिका–२ र ६, पर्सागढी नपा–५, ६, ७ को नयाँ क्रियाशील सदस्यता स्थगित गरिएको छ ।
स्थगित गरिएका वडाहरूबाट आएका पुराना सदस्यता सदर गरी समितिले काङ्ग्रेसको १४औं महाधिवेशनपछि प्रक्रिया पु-याएर कायम गर्नेगरी स्थगित गरेको हो । काङ्ग्रेसले देशभरिका १२१ वडामा सदस्यता वितरण स्थगित गरेको छ ।