प्रस, वीरगंज, १७ साउन/
नेपाल टेलिकमको फोरजी सेवामा प्रदेश २ को अस्थायी राजधानी धनुषा र सिराहा जिल्ला अगाडि रहेको देखिएको छ ।
मध्यतराईको पर्सा, बारा, रौतहट फोरजी सेवामा पछाडि रहेको नेपाल टेलिकमको तथ्याङ्कले देखाएको छ । नेपाल टेलिकम क्षेत्रीय कार्यालय, वीरगंजका सूचना अधिकारी रामनारायण महतोका अनुसार सिराहामा फोरजी सेवाको लागि ८४ वटा टावर (बेस्ड ट्रान्सिभर स्टेशन) रहेका छन् भने धनुषामा ८२ वटा छन् । त्यसैगरी, सप्तरीमा ७४ वटा, महोत्तरीमा ६० वटा, सर्लाहीमा ७४ वटा र मध्यतराईका पर्सा, बारा, रौतहटमा क्रमशः ६०, ५७, ५६ वटा छन् ।
त्यसैगरी, थ्रीजी सेवामा सबैभन्दा बढी टावर धनुषा जिल्लामा रहेका छन् । धनुषामा ६०, सिराहामा ५९, सप्तरीमा ५३, सर्लाहीमा ५९, महोत्तरीमा ४६, रौतहटमा ४३, बारामा ४५ र पर्सामा ५० वटा टावर छन् । यसैगरी, टुजी सेवाको लागि पर्सामा ५२, बारामा ४४, रौतहटमा ४६, सर्लाहीमा ६१, धनुषामा ६५, महोत्तरीमा ४७, सिराहामा ६४, सप्तरीमा ५८ वटा टावर रहेका छन् ।
तथ्याङ्क अनुसार पनि टुजी सेवामा पनि धनुषा, सिराहा, सप्तरी अन्य बाँकी जिल्लाभन्दा अगाडि देखिएका हुन् । सूचना अधिकारी महतोका अनुसार प्रदेश २ का ८ जिल्लाको भौगोलिक अवस्था र क्षेत्रफल फरक–फरक भएकाले टावरको सङ्ख्या थपघट भएको बताए । तर मुलुककै प्रमुख प्रवेशद्वार वीरगंज पर्सा र बारा जिल्लाको औद्योगिक कोरिडोर भए तापनि यो क्ष्Fेत्र दूरसञ्चारको सेवाबाट पनि विभेदमा परेको देखिएको छ ।
पर्सा जिल्लाको दुर्गम मानिने ठोरीको निर्मलबस्ती, विजयबस्ती क्षेत्रमा पनि दूरसञ्चार सेवा पछिल्लो समयमा सञ्चालन भएको छ । दशकौंदेखि अहिले पनि मध्यतराईका विभिन्न जिल्लामा मोबाइल सेवा प्रयोगमा छैनन् ।