प्रस, परवानीपुर, १५ साउन/
यातायात व्यवस्था कार्यालय, लाइसेन्स वीरगंजले गत आवको १२ महीनामा १० करोड ६९ लाख ९० हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले नवीकरणबापत रु ७ करोड १६ लाख २१ हजार, प्रतिलिपिबापत ८ लाख ६५ हजार, नवीकरण र प्रतिलिपि शीर्षकमा ६० लाख ३७ हजार, नयाँ लाइसेन्सबापत १ करोड ७१ लाख ६२ हजार, वर्ग थप शीर्षकमा १७ लाख ६१ हजार, नयाँ दर्ता दस्तुरमा ७६ लाख ७३ हजार, थप दर्ता दस्तुरमा १८ लाख ७० हजार गरी कुल १० करोड ६९ लाख ९० हजार राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख सुशीलकुमार साहले बताए ।
उनका अनुसार गत आवको साउनमा १२ लाख ४७ हजार, भदौमा शून्य, असोजमा १ करोड ५ लाख २५ हजार, कात्तिकमा ७६ लाख ३ हजार, मङ्सिरमा ९९ लाख २९ हजार, पुसमा १ करोड २८ लाख ८५ हजार, माघमा १ करोड ६० लाख २५ हजार, फगुनमा १ करोड ३७ लाख ९ हजार, चैतमा १ करोड ९८ लाख ४८ हजार, वैशाखमा ६७ लाख ६७ हजार, जेठमा शून्य, असारमा ८४ लाख ४९ हजार गरी १० करोड ६९ लाख राजस्व सङ्कलन भएको हो ।
कोरोना महामारीको कारणले गत आवको भदौ र जेठमा राजस्व सङ्कलनमा असर पुगेको उनले बताए ।
यसैबीच सो कार्यालयले अघिल्लो आव २०७६–०७७ मा ८ करोड २२ लाख ८६ हजार सङ्कलन गरेको थियो ।
सो अवधिमा कार्यालयले नयाँ लाइसेन्सबापत २ करोड ४ लाख ५६ हजार, थप लाइसेन्स शीर्षकमा २० लाख ९३ हजार, नवीकरण प्रतिलिपि शीर्षकमा ३८ लाख ५६ हजार, प्रतिलिपिमा ८ लाख ९० हजार, नवीकरण शीर्षकमा ३ करोड ७४ लाख ५२ हजार, नयाँ दर्तामा १ करोड ३८ लाख १७ हजार, थप दर्तामा ३६ लाख ५० हजार गरी ८ करोड २२ लाख १५ हजार राजस्व सङ्कलन गरेको थियो ।
त्यसैगरी आव २०७५–०७६ मा १२ करोड १६ लाख ५५ हजार राजस्व सङ्कलन गरेको थियो भने २०७४–०७५ मा १३ करोड ९९ लाख ५५ हजार राजस्व सङ्कलन भएको थियो । यसरी हेर्दा पछिल्लो दुई आवमा कार्यालयको राजस्वको ग्राफ् खस्केको छ ।