प्रस, वीरगंज, ४ साउन
वीरगंज महानगरपालिकाले घण्टाघर–पावरहाउस चोकसम्म फोरलेन सडक अन्तर्गत आफ्नोतर्फको दुई लेनको सडक निर्माण गरेपछि सोही सडकखण्डमा सडक विभाग अन्तर्गत पर्ने दुई लेनको अर्को सडक भत्किएकामा अहिले महानगरले मरम्मत सम्भार शुरू गरेको छ ।
सडक विभागतर्फको भत्किएको सडकखण्ड तत्काल मरम्मत गर्न आवश्यक भएकोले महानगरले साल्ट टेडिङअगाडि चारवटा खाल्डोमा ढलान गरेर मरम्मत गरेको महानगरका योजना प्रमुख इन्जिनीयर राकेश साहले बताए । तलबाट पानीको मुहान फुटेर सडक भत्केको कारण सो स्थानमा ढलान गरिएको हो ।
महानगरपालिकाले निर्माण गरेको दुई किलोमिटर लम्बाइको सडकखण्ड सडक विभागले निर्माण गरेको सडकको बराबर हुनेगरी नबनाएर अग्लो बनाएपछि सडक विभागतर्फको दुई लेन सडकमा पानी जम्ने र ठाउँ–ठाउँमा खाल्डा परेका थिए । घण्टाघरदेखि पावरहाउस चोकसम्म फोरलेन सडकमा १४ वटा मोड छन् । ती मोडमा महानगरले बनाएको पिच सडक उँचो भएपछि सडक विभाग अन्तर्गतको दुई लेन सडकमा पानी जम्ने र खाल्डो पर्ने गरेको छ ।