प्रस, वीरगंज, ४ साउन/
जिल्ला प्रहरी कार्यालय, पर्साले आइतवार राति साढे १० बजे ब्राउनसुगरसहित एकजना वडाध्यक्ष, सदस्य र अर्का शङ्कास्पद व्यक्तिसहित तीनजनालाई पक्राउ गरेको जनाएको छ ।
इप्रका पोखरियाको टोलीले वीरगंज महानगर–१९ बर्वामा ना.१प ३५९५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा फिल्टर बक्समा लुकाइएको ७९ ग्राम ब्राउनसुगरजस्तो वस्तु बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले सो शङ्कास्पद वस्तु बरामद भएपछि मोटरसाइकल चालक पकाहामैनपुर गापा–१ धोरे बस्ने ५५ वर्षीय अमेरिका सहनी र पछाडि बस्ने ५२ वर्षीय रामआदेश सहनीलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका अमेरिका सहनी पकाहामैनपुर गापा–१ का अध्यक्ष हुन् ।
यसैगरी, सोही मोटरसाइकलको पछिपछि आएको ना.६२प १९४२ नंको मोटरसाइकलमा सवार सोही ठाउँ निवासी ४० वर्षीय बलिष्टर सहनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बलिष्टर वडासदस्य भएको बताइएको छ । पक्राउ परेका तीनैजनालाई इप्रका पोखरियामा राखिएको र लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको जिप्रका, पर्साले जनाएको छ ।