प्रस, जनकपुरधाम, ३ साउन/
जनकपुर–जयनगर रेलवे खण्डको ट्र्याक परीक्षण गरिएको छ । आइतवार भारतीय रेल ल्याएर ट्र्याकको परीक्षण गरिएको हो ।
जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रूट बनाएको दुई वर्षपछि परीक्षण भएको छ ।
यसअघि नेपालले गत वर्ष खरीद गरेर ल्याएको रेलले नै ट्र्याक परीक्षण गर्ने बताइएको थियो । तर एकाएक भारतीय रेल ल्याएर परीक्षण गरिएपछि नेपाली रेल किन प्रयोग नगरिएको भन्दै स्थानीय बासिन्दाले रेलवे पदाधिकारीहरूलाई प्रश्न गरेका थिए । ट्र्याक परीक्षण सफल भएकोले अब रेल गुडाउन सकिने रेलवेका इन्जिनीयर विनोद ओझाले बताए ।
प्रतिघण्टा १२० किलोमिटर रेलको गति हुने भनिए पनि ट्र्याक परीक्षणको क्रममा उक्त गति नदेखिएको सहभागी स्थानीयले बताएका छन् ।
नेपालकै रेल हँुदाहुँदै परीक्षणका लागि भारतीय रेल किन ल्याइएको ? भन्ने जिज्ञासामा ओझाले परीक्षण गर्ने इन्जिन तथा उपकरण संयन्त्र नै छुट्टै हुने भएकोले आवश्यक प्रविधि उपलब्ध भारतीय रेल ल्याएको बताए ।
ट्र्याक परीक्षण सफल भएपनि रेल कहिलेदेखि सञ्चालनमा आउने भन्नेबारे यकीन नभएको तर जतिसक्दो छिटो गर्ने विभागको तयारी रहेको इन्जिनीयर ओझाले बताएका छन् ।
यसैबीच, पूर्वमध्य रेल समस्तीपुरका वरिष्ठ मण्डल वाणिज्य प्रबन्धक सरस्वती चन्दले जयनगर–कुर्था रेलसेवा ११० किलोमिटरको गतिमा चलाएर ट्रायल परीक्षण लिएको बताए ।
उनले हाजीपुरस्थित रेलवे मुख्यालयबाट यससम्बन्धी उपकरण र कर्मचारी परिचालन गरिएको बताए । कोंकण रेलवेद्वारा ट्र्याक परीक्षण गरिएको प्रबन्धक चन्दले जानकारी गराए ।