प्रस, ठोरी, १ साउन/
ठोरी गापाको छैटौं गाउँसभामा बुधवार गापा अध्यक्ष पद्मलाल श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरे । सामान्यतः यसअघिका गाउँसभामा प्रस्तुत हुने एजेन्डाहरू सर्वसम्मत पारित हुने ठोरी गापाको गाउँसभामा बुधवार अध्यक्ष श्रेष्ठले विरोधको सामना गर्नुप¥यो ।
२०७४ माघ १५ मा सम्पन्न पहिलो गाउँसभामा सेवा केन्द्र स्थानान्तरण गर्ने निर्णयका कारण गापा उपाध्यक्ष शान्तिमाया थिङसहित वडा ५ बाट निर्वाचित जनप्रतिनिधिहरूले सभाको अन्त्यमा बहिष्कार गरेका थिए ।
त्यसयताका सबै गाउँसभामा सबै छलफलको एजेन्डा सर्वसम्मत पारित भएका थिए । गाउँसभा सदस्यहरूले हरेक वर्ष भनेको कार्यक्रम कार्यान्वयन नभएको भन्दै गुनासो गरे पनि निर्णय प्रक्रियामा सबैले सर्वसम्मत भएर नै सभा सफल बनाउने गरेका थिए ।
तर बुधवारको सभा शुरू हुने बित्तिकै ठोरी–२ का वडा सदस्यहरू श्यामहरि शर्मा र अमृतकृष्ण सापकोटाले आव २०७७/७८ को गापाको सम्पूर्ण आयव्यय विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै विरोध गरे ।
चौथो गाउँसभाबाट पारित बजेटसम्बन्धी प्राप्त किताबमा एउटा र बजेट विवरण अर्कै भएकाले त्यस सम्बन्धमा अध्यक्षले स्पष्ट पार्नुपर्ने भन्दै माग गरेपछि अध्यक्ष श्रेष्ठले जवाफ दिने क्रममा राजनीतिक टिप्पणी गरेको भन्दै नाराबाजी गरिएको थियो ।
त्यसअघि सभामा मन्तव्य राख्ने क्रममा ठोरी–२ का अध्यक्ष किशोर तामाङ र ५ का अध्यक्ष रामबहादुर पाख्रिनले पनि गाउँसभा सञ्चालनका विषयमा असन्तुष्टि जनाएका थिए ।
प्रारम्भमा ठोरी–२ का वडा सदस्यहरू श्यामहरि शर्मा र अमृतकृष्ण सापकोटाले गाउँसभामा अघिल्लो वर्ष प्रस्तुत आयव्यय विवरण सार्वजनिक गर्न माग गर्दै विरोध जनाए र माग पूरा नभए सभा चल्न नदिने भन्दै विरोध जनाएका थिए ।
त्यसपछि सभामा उपस्थित बहुमत सभा सदस्यहरूले शर्मा र सापकोटाको भनाइमा समर्थन जनाउँदै सभास्थलबाट बाहिरिएका थिए । बाहिरिनेमध्ये कतिपय सभा सदस्यहरूले त के कारणले बाहिरिएको भन्ने मेसोसम्म पाएनन् । बहुमत सभा सदस्य बाहिरिएपछि सभा आधा घण्टाको लागि स्थगित भएको थियो ।
करीब ३ बजे सभा स्थगित गरेर अध्यक्ष श्रेष्ठले वडाध्यक्षसहितको कार्यपालिका सदस्यहरूसँग छलफल गरे । छलफलमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सहमति जुटेपछि करीब ५ बजे सभा पुनः शुरू भएको थियो । सभा शुरू भए लगत्तै गापा अध्यक्ष श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
आर्थिक वर्ष २०७८/७९ को आयव्यय विवरणसहितको विनियोजन विधेयकबारे अध्ययन गर्नुपर्ने भन्दै सभा सदस्यहरूले माग गरेपछि अध्यक्ष श्रेष्ठले साउन १३ सम्मका लागि सभा स्थगित गरे ।
बुधवार गाउँसभामा भएको विरोध लोकतन्त्रमा सामान्य भएको गापा अध्यक्ष श्रेष्ठको टिप्पणी छ। उनले चुनाव नजीकिंदै गएपछि विरोध हुनु सामान्य विषय भएको र सबैलाई मिलाएर लैजाने प्रतिक्रिया दिए ।
ठोरीमा २८ सदस्यीय गाउँसभा छ । जिल्ला समन्वय समितिमा उपप्रमुख निर्वाचित भएका ठाकुरप्रसाद न्यौपानेको पद रिक्त छ ।
गाउँसभामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गापा अध्यक्ष र उपाध्यक्षसहित ११ जना, नेकपा एमालेबाट एकजना वडाध्यक्षसहित १० जना र नेपाली काङ्ग्रेसबाट एकजना वडाध्यक्षसहित सातजना गाउँसभा सदस्य निर्वाचित छन् । १३ सदस्यीय गाउँकार्यपालिकामा भने अध्यक्ष श्रेष्ठको स्पष्ट बहुमत छ ।