प्रस, जनकपुरधाम, २९ असार/
प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा त्रुटि भएको कुरा प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले स्वीकार गरेका छन् । अवरुद्ध प्रदेशसभाको बैठक मुख्यमन्त्रीले गलती स्वीकार्दै सच्याउने प्रतिबद्धता जाहेर गरे पछि मङ्गलवारदेखि सुचारु भएको छ ।
बजेटमा त्रुटि भएको भन्दै प्रदेशका प्रतिपक्षी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संसद् अवरुद्धलाई निरन्तरता दिएपछि बैठकमा मुख्यमन्त्रीले जवाफ दिंदै बजेट सच्याउने प्रतिबद्धता जाहेर गरेका हुन् ।
आवश्यक समन्वयको अभावमा बजेटमा सबैको आकाङ्क्षा अनुरूपका योजनाहरू समावेश हुन नसकेको उनले बताए । “म विश्वास दिलाउन चाहन्छु कि मन्त्रिपरिषद्बाट सुधार गर्छौं,” मुख्यमन्त्री गद्दीको भनाइ थियो ।
बजेटमा करीब साढे पाँच अर्ब रुपैयाँ विनियोजन नगरी राखिएको विषयमा सांसदहरूले प्रश्न उठाएपछि उनले उक्त रकमलाई पारदर्शीरूपमा बाँडफाँड गरिने बताए । “बाँडफाँड नगरिएको रकम गलत ढङ्गले वितरण गरिनेछैन । सबैको छलफल तथा सहमतिमा मात्रै विनियोजन गर्ने प्रतिबद्धता जाहेर गर्छु,” मुख्यमत्रीले भने ।
दलका नेता तथा सांसदहरूसँग बैठकबाहिर नै लामो छलफल तथा सहमतिपछि मुख्यमन्त्रीले प्रदेशसभाको बैठकमा कमजोरी स्वीकार्दै प्रतिबद्धता जाहेर गरेका हुन् ।