प्रस, वीरगंज, २७ असार/
वीरगंज महानगरपालिका अन्तर्गतको विपी उद्यानमा सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, पर्साले निर्माण गराइरहेको पर्खाल र पार्किङस्थल निर्माण कार्यलाई लिएर अहिले विवाद भएको छ ।
एक वर्षअघि वनशक्ति/सागर जेभीले यही चालू आवको असार मसान्तसम्म काम सम्पन्न गर्नेगरी ११ सय मिटर लम्बाइको पर्खाल र ४ हजार वर्गफिट ढलानको काम रु ३ करोड २० लाखमा सकार गरेको थियो । एक वर्ष अवधिको यो काम गत वैशाखदेखि पर्खाल लगाउन र असारको दोस्रो सातापछि ढलानको काम शुरू भएको हो । अहिले ढलान कार्यलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन् ।
शहरको मुख्य ठाउँमा भइरहेको यो ढलान कार्यमा सबैको आँखा छ तर ठेकेदारले हिलो माटोमैं रड ओछ्याएर ढलान गरिरहेका छन् । यसबाट सो ढलान कतिको टिकाउ हुन्छ भन्ने कुरा सहज अनुमान गर्न सकिन्छ । तर ठेकेदार रोहित खड्का काम कमसल नभएको दाबी गर्छन् । उनले ढलान कार्यको गुणवत्तामा कुनै किसिमको कमी नभएको बताए । ढलान सकिएपछि तीन टनको सवारीसाधन चलाएर देखाउने उनले दाबी गरे । ढलान ईरिक्शा, अटो आदिको पार्किड्ढो लागि बनाउँदै गरेको उनले प्रस्ट्याए ।
ठेकेदार खड्काले पर्खाल निर्माण कार्य उच्च अदालतद्वारा रोकिएकोले ११ सय मिटरको साटो ८ सय मिटर लम्बाइको पर्खाल मात्र निर्माण हुन सकेको बताए । वीरगंज–१० घडीअर्वाका ढुड्डाना परिवारले २ बिघा ४ कट्ठा जग्गामा दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दिएको र सोसम्बन्धी फैसला नहुँदै विपी उद्यानलाई पर्खालले घेर्ने काम भएको भन्दै उच्च अदालतमा परेको रिटमा अदालतले रोक्का राखेको आयोजनाका वीरगंज प्रमुख प्रदीपकुमार सिंहले बताए । उनले पनि विपी उद्यानमा निर्माण भइरहेको पर्खाल र ढलान गुणस्तरीय भएको दाबी गरे ।
विपी उद्यान करीब १० बिघा जग्गामा छ । मन्त्रालयले वीरगंज महानगरको नाममा जग्गापास गरेको २३ वर्ष बितिसक्दा पनि अहिलेसम्म त्यहाँ कुनै किसिमको विकास निर्माण भएको थिएन । विगतमा सो जग्गामा तरकारी बजार सञ्चालन हुनुका साथै डोम, मुसहर जातिले कच्ची घर बनाएर बस्दै आएका थिए ।