प्रस, वीरगंज, २७ असार/
वीरगंज महानगरले बनाएको सडकको गुणस्तर यसपालिको वर्षाले पनि उजागर गरेको छ । शुरूदेखि नै टिकाउ सडक नबनाउने कीर्तिमान कायम गरेको वीरगंज महानगरपालिकाले यस वर्ष बनाएका सडकहरू पनि एकै झरीमा बिग्रिएका छन् ।
महानगरपालिकाले बर्सेनि १५ किलोमिटरको हाराहारीमा कालोपत्र सडक निर्माण गर्दै आएको छ र सो सडक बनाएको अर्को वर्षसम्म पनि टिक्दैनन् । नेशनल टे«डिङदेखि ब्रह्मचोकसम्म कैयौंपटक सडक पिच गरियो तर त्यहाँ पिच सडक टिकाउ नभएर बर्सेनि भत्किरहेपछि अहिले त्यहाँ सडक ढलान गरिएको छ । यो ढलान कार्य पनि असार मसान्तमा भएकोले टिकाउ हुनेमा आशङ्का छ ।
यसैगरी, वीरगंजको कुम्हालटोल, बिर्ता, भगवतीटोल, भगवती राइस मिल क्षेत्र, छपकैयालगायतका ठाउँमा बनेका पिच सडकहरू वर्षायाममा ठाउँ–ठाउँमा भत्किएका छन् । आदर्शनगर रड्डशालादेखि बजार छपकैया जाने सडक बर्सेनि पिच हुने गरेको छ । त्यहाँको सडक पनि टिकाउ छैन । यसपालिको वर्षामा ठाउँठाउँमा कालोपत्र उप्किएर पुनः बनाउनुपर्ने अवस्था आएको छ ।