प्रस, ठोरी, २७ असार/
ठोरी गाउँपालिका–५ का अतिविपन्न परिवारलाई आइतवार खाद्यान्न सामग्री वितरण गरिएको छ । जेडएसएल नेपालको सहयोगमा सुवर्णपुरस्थित सुनाखरी मध्यवर्ती उपभोक्ता समितिले अतिविपन्न आफ्ना उपभोक्ताहरूलाई चामल, दाल, तेल, नून, आलु, प्याजलगायत खाद्यान्न सामग्री वितरण गरेको समितिका सचिव जीवन श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा ३० घरपरिवारलाई रु ६६ हजारबराबरको खाद्यान्न सामग्री वितरण गरिएको सचिव श्रेष्ठले बताए । प्रतिपरिवार एक बोरा चामल, ३/३ किलो दाल/आलु, २ किलो प्याज, १ किलो नून र २ प्याकेट खानेतेल वितरण गरिएको उनले बताए ।
कार्यक्रममा ठोरी गापा–५ का अध्यक्ष रामबहादुर पाख्रिन, सुनाखरी उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद दाहाल, विभिन्न संस्थामा आबद्ध अगुवाहरू, स्थानीय जनप्रतिनिधि, पर्सा राष्ट्रिय निकुञ्जका प्रतिनिधिलगायतको सहभागिता थियो ।
कार्यक्रम समापनपछि सुवर्णपुरमा वृक्षारोपण गरिएको थियो । सुनाखरी मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा मातृभूमि सामुदायिक वन छिरिङलाइनमा वृक्षारोपण गरिएको हो ।