- सञ्जय मित्र
अग्रज तथा विशिष्ट साहित्यकार निर्मोही व्यास कुनै परिचयको आवश्यकता नपर्ने विद्वान् हुन् । वर्तमानमा नेपाली नियात्रा साहित्यका सर्वोच्च प्रतिभा हुन् । धेरैले व्यासलाई नियात्राकार भनेर नै चिन्दछन् । तर व्यासको कलम विभिन्न विधामा चलेको छ । व्यासको पहिलो कृति नै कविता विधाको प्रकाशन भएको थियो, बेहुली अन्माएको घर (२०३३) ।
यसपछि २०३६ मा सरिता (काव्य), २०४३ मा एलबमका पानाहरू (उपन्यास), २०४६ मा नौ पाइला (नियात्रासङ्ग्रह) प्रकाशित भएको हो । कृतिको प्रकाशन क्रमको दृष्टिकोणले चौथो कृतिको रूपमा पहिलो नियात्रासङ्ग्रह देखिन्छ । यसैगरी, २०४७ मा स्वयम्भूका आँखाहरू (कथासङ्ग्रह), २०४८ मा ठोरीको एलबम (नियात्रा), २०५१ मा झलझली आँखामा
(नियात्रासङ्ग्रह), २०५३ मा सम्भवामि युग युगे (संस्मरणसङ्ग्रह), २०६१ मा सेरोफेरो सबै मेरो (नियात्रासङ्ग्रह) तथा २०६८ मा साँचेको सम्झना (संस्मरणसङ्ग्रह) र २०६९ मा बोधिवृक्षको छायामा (कवितासङ्ग्रह) प्रकाशित छन् । यसरी कृति प्रकाशनको अवधिलाई विचार गर्दा २०३३ देखि २०६९ सम्म गरी ३६ वर्षको अवधिमा कविता/काव्य दुई, आख्यान दुई र संस्मरण/नियात्राका छ गरेर ११ कृति प्रकाशन भएका छन् । यी कृतिहरूमध्ये बोधिवृक्षको छायामा कान्छो वा नवीन कृति हो ।
सामान्यतया बोधिवृक्ष भन्ने शब्दसँगै भगवान् गौतम बुद्धले जुन पीपलको रूखमुनि ध्यान गरेर ज्ञान प्राप्त गरेका थिए, त्यसलाई नै मनले बुझाउँछ तर जब कोही कसैले एकपटक व्यासकृत बोधिवृक्षको छायामा भन्ने कवितासङ्ग्रहको अध्ययन गर्दछ, तब यस शब्दले यस कृतिको पनि अर्थ मनमा उब्जाउन थाल्दछ । यसैबाट यो स्पष्ट हुन्छ कि यो कृति कति शक्तिशाली रहेको छ ।
गेहनाथ ढुङ्गाना र शीला ढुङ्गानाद्वारा प्रकाशित यस कृतिमा राष्ट्रकवि माधव घिमिरेले आफ्नो शुभकामना मन्तव्यमा लेख्छन् “… कवि निर्मोही व्यास मलाई मन पर्ने कविमध्ये एक हुन् । उनको शैलीको सरलता र भावको तरलताले तत्कालै हृदय स्पर्श गर्छ । … उनी मृत्युलाई छोएजस्तै गरेर पनि अमरताका गीत गाइरहेछन् र यही क्षणभङ्गुर मानवीय मायामा पनि सच्चिदानन्दको आवाहन गरिरहेछन् । …”
घनश्याम कँडेलले ‘बोधिवृक्षको छायामा सुस्ताउँदा’ शीर्षकमा कृतिकारलाई बधाई दिंदै शुभकामनाका केही शब्द लेखेका छन् । यसका लेखकको छिट्टै ‘यशोधरा’ नामक खण्डकाव्य तयार भइसकेको बताइएको छ । यस कृतिमा प्रकाशित कविताले कवि व्यास सायास कविता लेख्ने आभ्यासिक कवि नभएर सहज प्रतिभा भएका कवि हुन् भनेका छन् । उनी थप यसरी भन्दछन्, “… निर्मोही व्यासका कविता सीमित समयका लागि उरालिने नारा नभएर स्थायी मूल्यका छन् । त्यसैले उनले कविता लेखनलाई दोस्रो प्राथमिकतामा राख्नुहुँदैन ।
कविता लेखनलाई पनि गद्य लेखनलाई जति नै र सम्भव भए अझ बढी समय दिनुपर्छ ।” व्यासका यशोधरा र नारी शीर्षकमा दुई खण्डकाव्य पनि रहेका छन्, जुन अप्रकाशित छन् । दुवै कृति साहित्यिक मूल्य र मान्यताले उच्चकोटिको रहेको यसै कवितासङ्ग्रहबाट जानकारी पाइन्छ । यी दुई कृति पनि प्रकाशित हुनुपर्छ भन्ने चाहना रहेको छ ।
‘झनै निर्मोही बन्दै जाऊ’ शीर्षक दिएर बूँद रानाले कवि व्यासको बारेमा थोरै शब्दमा अनेक किसिमले प्रशंसा गर्दछन् । “सम्पर्कमा आयो कि सिर्जनाको भोक–प्यास जगाइहाल्छन् निर्मोही व्यास । सिर्जनामा शालीनता र प्रस्तुतिमा आकर्षण निर्मोहीको विशेषता नै हो,” रानाअगाडि थप्छन्, “निर्मोही व्यास सिर्जनाका सार्थक अभ्यास हुन् । … निर्मोहीले घाँटी सुक्नेगरी जतिसुकै चिच्याएर म निर्मोही हुँ भनून् कोही पत्याउने पक्षमा हुन्नन् । पत्याउनु पनि कसोरी, उनको सिर्जनामा भरपूर लालित्य पाइन्छ । उनको सिर्जनामा साहित्य हुन्छ र साहित्य मात्र हुन्छ ।”
भानुभक्त पोखरेलले निर्मोहीका ‘सम्मोही’ कविता शीर्षकमा निर्मोही व्यासलाई देशको एक सशक्त छन्द कविका रूपमा प्रस्तुत गरेका छन् । उनी भन्दछन्, “… प्रस्तुत कवितासङ्ग्रह स्वच्छन्दतावादी भाव प्रवाहलाई परिष्कारवादी व्युत्पत्ति चेतनाले सङ्ल्याइएका सर्वाङ्ग सुन्दर रचनाहरूको सङ्कलन हो । वर्तमान क्षणमा प्रकाशित भइरहेका बद्धछन्दी कविता–कृतिहरूमध्ये यो एक नमूना बन्न पुगेको छ । … नेपाली कविताको भण्डारमा यस्तो राम्रो कृति थपिदिएकामा कवि निर्मोही व्यासलाई हार्दिक बधाई दिन्छु र उनका कवि–जीवनको उत्तरोत्तर सफलताका निम्ति शुभकामना व्यक्त गर्दै उनीबाट उच्च महाकाव्य रचनाको अपेक्षासमेत गर्दछु ।”
पोखरेलका यी ओजपूर्ण कथनले व्यासको कवित्व प्रतिभाको जसरी गुणगान गरेको छ, नेपाली कविता साहित्यमा व्यासबाट गरिएको अपेक्षाको आकाश पनि दर्शन गराएको छ । कृतिमा पचासवटा कविता सङ्गृहित छन् । पहिले नै उल्लेख भइसकेको छ कि कृतिका सम्पूर्ण कविता छन्दमा छन् । छन्दमा भएपनि अति सरल छन् । उच्च काव्यमय छन् ।
कविताको लालित्य र धर्मलाई वहन गर्ने किसिमका छन् । यस कृतिलाई निर्मोही व्यासका प्रतिनिधि छन्द कविता मान्दा पनि हुन्छ । विभिन्न विषय र सन्दर्भमा लेखिएका कविताहरू कालजयी छन् । कविताहरूले व्यासका पीडा पनि बोलेका छन्, मनको बह खोलेका छन्, दर्शन स्पष्ट्याएका छन् । यसैगरी, कविताहरूले देशभक्तिलाई शिरमा राखेका छन् । नेपाली हुनुको गर्व यसमा छ । प्रकृतिप्रति अपार श्रद्धा अभिव्यक्त भएको छ ।
अन्धविश्वास तथा कुरीतिको विरोध गरिएको छ । उच्च मानवताबोध, स्मृति र प्रेम यस सङ्ग्रहका सम्पत्ति हुन् । धेरै लामो समयमा अर्थात् विभिन्न समयमा लेखिएका कविताहरू यसमा सङ्कलन गरिएका हुनाले यी कविताहरूले समयको अनुहार बोकेको प्रतीत हुन्छ । कविको समयप्रतिको उद्गार अभिव्यक्त गरेको आभास हुन्छ ।
सङ्ग्रहमा शृङ्गार, शान्त, करुण, वीर, रौद्र, बीभत्स आदि विभिन्न रसका कविताहरू रहेका छन् । यसैगरी, पञ्चचामर, मालिनी, शार्दूलविक्रीडित, भुजङ्गप्रयात, स्रग्विणी, तोटक, मन्दाक्रान्ता, उपजाति, द्रुतविलम्बित, शिखरिणी, अनुष्टुप आदि विभिन्न वार्णिक छन्दहरूमा लेखिएका कविताहरू रहेका छन् । अनेक अलङ्कारहरूको प्रयोग गरिएका छन् । यसरी छन्द, रस र अलङ्कारको दृष्टिकोणले यो कवितासङ्ग्रह उच्चकोटिको बन्न पुगेको छ ।
कृतिको सम्पादन गोविन्दराज विनोदीले गरेका छन् । यस कवितासङ्ग्रहको बारेमा विनोदीले लेखेका छन्, “… यसभित्र कवि व्यासको सरल, निर्मल, निश्छल हृदयको झरना पनि छ र अमानवीय मानवजगत् भत्काउने हुङ्कारमय उर्लंदो खहरे पनि छ । विविध भावहरूको आस्वादन पाइने प्रस्तुत कृतिमा व्यासजीको काव्य–सौष्ठवको राम्रो परिचय पाउन सकिन्छ । प्रस्तुत कृति सहृदय पाठक–भावकहरूलाई निश्चय नै रुचिकर लाग्नेछ ।”
वास्तवमा कविता लेख्ने तथा कविता पढ्ने जो कोहीले पनि यदि प्रस्तुत कृतिलाई एकचोटि सुम्सुम्याएका छैनन् भने नेपाली काव्याकाशको एक खण्डलाई तिनले नहेरेको, नबुझेको अधुरा कवि वा भावक हुन् । यो केवल एक कवितासङ्ग्रह होइन, साहित्यकार निर्मोही व्यासको अभ्यन्तरको आकाशलाई दृश्यमा उतार्ने क्यानभास पनि हो, उनको जीवन र दर्शनलाई बुझ्ने वाणी हो, मनको उकुसमुकुसको प्रस्फुटन हो । यसमा देशको चाहना र माटोप्रतिको नागरिकको कर्तव्यबोध पनि पाइन्छ । आफूलाई आफू हुनुको यथार्थ पनि यसले प्रकट गरेको छ ।
कवि व्यासका कविताहरू युगजीवनको प्रतिनिधित्व गर्ने, शाश्वत र हृदयस्पर्शी छन् । मनको भावलाई शब्दमा दिइएको सार्थक आकारको साक्ष्य हो यो कृति । पुनश्चः यस कृतिलाई एकपटक नपढ्ने भावक साँच्चिकै नेपाली साहित्यको काव्यबाट एक पाइलो पछाडि छन् भन्ने मलाई लागेको छ ।
कवि तथा विशिष्ट गीतकार र यस कृतिका सम्पादक गोविन्दराज विनोदीको एक वाक्य जस्ताको तस्तै सापटी लिंदै आलेखलाई रोक्न चाहन्छु । “शास्त्रीय छन्दका कविता र गीति कविताको सङ्गमका रूपमा रहेको प्रस्तुत कृति सत्यम् शिवम् सुन्दरम्को भावनाको अमृतमय त्रिवेणी पनि हो ।”