सम्पादकीय

महोत्तरीको लोहारपट्टी नगरपालिका भ्रमरपुराकी विवाहिता महिला सुजिता ठाकुरको हत्या भएको एक महीनापछि प्रहरीले जाहेरी दर्ता गरेको छ । बितेको जेठ २० गतेदेखि बेपत्ता सुजिताको शव अन्ततः उनकै घरनजीक ससुराको खेतमा गाडेको अवस्थामा बरामद भयो । शव बरामद हुनुभन्दा पहिले उनको पाँच वर्षीय छोराले आमालाई काका र हजुरबुबाले मिलेर हत्या गरेको आफ्नै आँखाले देखेको बताएका थिए ।

यसबीचमा सुजिताको ससुराली पक्षले भने उनी परपुरुषसँग पोइला गएकी भन्ने हल्ला फैलायो । सुजिता बेपत्ता भएलगत्तै उनको माइती पक्षले प्रहरीमा जाहेरी दिएको थियो । उक्त जाहेरी प्रहरीले लिएन । शव बरामद भइसकेपछि माइती पक्षले ससुरालगायत विरुद्ध जाहेरी दियो, त्यो पनि प्रहरीले दर्ता गरेन ।

अन्ततः सामाजिक अभियन्ताहरू अगाडि सरेपछि त्यही जाहेरी असार २१ गते प्रहरीले दर्ता पनि ग¥यो । हत्यारा को हो, अझै पत्ता लागेको छैन । त्यसैगरी, चितवनकी २३ वर्षीया युवती सुजिता भण्डारी बेपत्ता भएको नवौं दिनमा चितवनकै जङ्गलमा शव फेला प-यो । बेपत्ता भएकै दिन प्रहरीलाई खबर पुगेको थियो । आफू अपहरणमा परेको कुरा उनले आफ्नी दिदीलाई मोबाइल समपर्कमा बताएकी थिइन् । त्यसअघि उनकी दिदीले फोन गर्दा पनि उनको मोबाइलमा घण्टी गइरहेको थियो ।

महोत्तरीको घटनामा “मेरो आमाको हत्या भइसक्यो” भनेर मृतकका छोराले भनिसकेको छ । त्यसैगरी, चितवनको घटनामा पनि आफू अपराधीको पञ्जामा परेको कुरा युवतीले सूचित गरिसकेकी थिइन् । जाँगर चलाउने र प्रहरीको सीप, स्रोत, साधन प्रयोग गरेर लागिपरेको भए यति सुराग अनुसन्धानको लागि पर्याप्त छ ।

चितवन घटनामा पनि दोषी पत्ता लागिसकेको छैन । दुवै घटनामा शव बरामद हुनुपूर्वसम्म, हत्याभन्दा पनि कुनै पुरुषसँग भागेको वा पोइला गएको हुन सक्छ भन्नेतर्फ प्रहरी केन्द्रित रहेको र अनुसन्धानमा तदारूकता नदेखाएको पाइन्छ । चितवनको घटनामा मोबाइलको लोकेशन पत्ता लगाएर सम्भावित क्षेत्रलाई सिल गर्ने र सबैतर्फ सूचित गरेको भए शायद युवतीको ज्यान बचाउन सकिन्थ्यो । महोत्तरीको घटनामा पनि जाहेरी दर्ता गराउन अभियन्ता नै गुहार्नुपरेको देखिन्छ । यसले बोल्न नसक्ने सोझा, निर्धाको पहँुच प्रहरी कार्यालयमा छैन भन्ने कुरा पुष्टि गरेको छ ।

यी र यस्तै घटनाहरूले जनमानसमा प्रहरीप्रति अविश्वासको वातावरण बनिरहेको छ । सामान्यतया सूचना प्राप्त हुने बित्तिकै प्रहरी संवेदनशील हुँदैन । संवेदनशील घटनामा नागरिकले सूचना दिने बित्तिकै प्रहरी एक्शनमा नजाँदा प्रहरीप्रति नागरिक विश्वास गुमिरहेको छ । घटना हुने बित्तिकै परिवारले प्रहरीको साथ खोजेको हुन्छ, तर प्रहरीले समयमा तदारूकता नदेखाइदिंदा घटनाले गम्भीर रूप लिने मौका पाउँछ । यसले अपराधलाई बढावा त दिन्छ नै प्रहरीप्रति नागरिकमा आक्रोश पनि पैदा गर्छ ।

परिणामस्वरूप कुनै पनि जघन्य अपराधको घटना भएलगत्तै सर्वसाधारण प्रहरीकै विरुद्ध आन्दोलित हुन्छन् । अपराज नियन्त्रणको लागि प्रहरी र नागरिकबीच विश्वसनीय सम्बन्ध हुनुपर्छ । नागरिकले दिएको सूचना वा मागेको सुरक्षा सहयोगलाई प्रहरीले नजरअन्दाज गर्ने र प्रहरीप्रति सर्वसाधारणले अविश्वास गरिरहने हो भने नागरिक र प्रहरीबीच ठूलो अविश्वासको खाडल पैदा हुने र त्यसले गलत तत्वलाई नै मलजल पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here