प्रस, वीरगंज, २२ असार/
वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले दलित छात्रवृत्ति कोटाबाट अध्ययन गरिरहेका चारजना विद्यार्थीलाई चौथो र पाँचौं वर्षको अन्तिम परीक्षाको फाराम भर्न रोक लगाएको छ।
एमबिबिएस पाँचौं वर्षमा अध्ययनरत रामजी राम र पङ्कज राम तथा चौथो वर्षमा अध्ययनरत रूकेशकुमार राम र प्रमोदकुमार रामलाई नेशनल मेडिकल कलेजले परीक्षा फाराम भर्नमा रोक लगाएको बताइएको छ।
फाराम भर्ने अन्तिम दिन हिजो कलेजले विभिन्न शीर्षकमा शुल्क माग्दै फाराम भर्न नदिएको उनीहरूको आरोप छ। रामजीलाई कलेजले सोमवारसम्म विभिन्न शीर्षकमा ८ लाख ७३ हजार रुपैयाँ अतिरिक्त शुल्क बुझाउन सूचित गरेको थियो।
हिजोसम्म भर्ना, ल्याब, लाइब्रेरी, वार्षिक शुल्क मिनहा गरेर कलेजले अन्य शुल्क मागेको थियो। सो रकम बुझाउन नसकेर परीक्षा फाराम भर्नबाट वञ्चित गराइएको उनले बताए। होस्टल र कलेजको इन्टरनेट सेवा पनि उपभोग नगरेको तर कलेजले विभिन्न शीर्षकमा अचाक्ली शुल्क मागेको र सोबापतको रकम आफूहरूले बुझाउन नसकेको उनको भनाइ छ।
मेडिकल कलेजले विद्यार्थीलाई अनिवार्य होस्टलमा राखेर इन्टरनेट, खाना, खाजालगायतमा चर्को शुल्क असुल्ने गरेको विद्यार्थीहरूको आरोप छ।
कलेजले मागेको शुल्क आजसम्म नबुझाए परीक्षामा सामेल नगराइने कलेजले चेतावनी दिएको छ। उनले यसअघि पनि कलेजले अतिरिक्त शुल्क माग्दै परीक्षाबाट वञ्चित गर्ने प्रयास गरेको र सोविरुद्ध त्रिविको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) र चिकित्सा शिक्षा आयोगमा उजूरी गरेपछि कलेजसँग स्पष्टीकरण मागिएको उनले बताए।
चिकित्सा शिक्षा आयोगले विद्यार्थीलाई परीक्षामा सामेल गराउन पहल गरिरहेको आश्वासन पाएको उनीहरूले बताएका छन्।
यस सम्बन्धमा कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीले यस विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए। उनले सरकार र कलेजको नियम अनुसार समस्याको समाधान गरिने आश्वासन दिए।