प्रस, वीरगंज, २२ असार/

पर्सा जिल्लाका स्थानीय तहहरूमा विकास गर्नुको साटो असारे बजेट सिध्याउने दाउपेच अवलम्बन गर्दै अहिले धमाधम विकास निर्माण कार्य हुँदैछन् ।

असल काम गराउनका लागि वर्षभरिको समय भएपनि सो बखत चाख नदिने र अहिले विभिन्न शीर्षकमा रहेका विकास बजेट रित्याउन वर्षाको समयमा पनि विकास निर्माण कार्य धमाधम हुँदैछन् ।

प्रत्येक आवमा असार २४ गतेसम्म चेक भुक्तान गर्ने समयसीमा भएकोले सबै स्थानीय तहमा अहिले विकासको नाममा झारा टार्ने काम जारी छ । वीरगंज महानगरपालिकाको विपी उद्यान, नेशनल टे«डिङदेखि ब्रह्मचोकसम्म सडक निर्माण कार्य वर्षाले वीरगंज डुबानमा परेको बेलादेखि नै जारी छ । वर्षाले जमीन गिलो भएको बेला ढलान गर्दा सडकको अवस्था के होला सहजै मापन गर्न सकिन्छ ।

यसैगरी, विभिन्न वडामा ग्रेभल बिछ्याउने कार्य, नाला, ढलान तथा कालोपत्र सडक निर्माण कार्य भइरहेका छन् । यी सबै विकास कार्य असार २४ गतेसम्म भुक्तानी गर्ने प्रयोजनबाट मात्र गरिएका हुन् ।

महानगरको यस्तो चाला छ भने जिल्लाका तीनवटा नगरपालिका र दशवटा गाउँपालिकामा पनि यसैगरी असारे विकासको गति तीव्र छ ।

असारे विकास कार्यको चेक काट्न अहिले ५६ घण्टा बाँकी छ तर करोडौं मूल्यका योजनाहरूको निर्माण कार्य हिजोदेखि शुरू भएको स्रोतले बताएकाको छन ।

यस्ता योजनाको काम कहिलेसम्म सक्ने, प्राविधिक प्रतिवेदन मूल्याङ्कन तथा ल्याब परीक्षण रिपोर्ट कहिले र कसले दिने भन्ने अन्योलताबीच असारे विकास जारी छ ।

छिपहरमाई गापाको भिस्वामा रहेको माविदेखि भारतीय सिमानासम्म २९७ मिटर सडकको ढलान कार्य भइरहेको छ । गापाको बजेटमा गुनगुन कन्स्ट्रक्शन छिपहरमाईले सो निर्माण कार्य मूल्य अभिवृद्धि करसमेत रु ५३ लाख ४२ हजारमा गर्दैछ ।

आजको मितिसम्म उक्त सडकको ढलान कार्य १४ मिटरसम्म मात्र भएको छ । निर्माण कार्य वर्षाले समेत रोक्न नसक्दा दिनरात काम भइरहेको छ । तोकिएको समयमा कुनै पनि हालतमा कार्य सम्पन्न हुने छाट देखिंदैन तर असारे विकास भएकोले असम्भवलाई सम्भव पार्ने काम भने भइरहेको छ । अहिले सो सडक ढलान कार्यको प्राविधिक रिपोर्टदेखि अन्य आवश्यक कागजात तयारी गरी पेश गरेर चेकसमेत बनिसकेको स्रोतले दाबी गरेको छ ।

धोबिनी गापामा टावरलाइट जडान नभए पनि ठेकेदारले भुक्तानी पाइसकेको स्रोतले जनाएको छ। लङ्गडी चोकमा टावरलाइटको काम भइरहेको अवस्थामा भुक्तानी हुनुले सबैलाई आश्चर्यचकित पारेको छ । टावरलाइटको बेस दुई दिन पहिले मात्र ठेकेदारले हतारमा तयार गरेको थियो । तर सो बेस कमसल भएपछि भत्काएर पुनः बेस तयार भइरहेको छ ।

पालिकाहरूले चालू आवमा बाँकी रहेको बजेटबाट आवश्यक नै नभएका सामानहरू खरीद गरेर थुपारिरहेका छन् । धोबिनी गापाले गत वर्ष १४ लाख रुपैयाँको फर्निचर खरीद गरेको थियो भने यस वर्ष पनि फर्निचर खरीद गरेर भण्डारण गरेको छ ।

पकहामैनपुर गापाको स्टोरमा आज बिहान तीन ट्रक सामान उतारिएको स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here