प्रस, वीरगंज, २२ असार
प्रदेशसभा सदस्य शङ्कर चौधरीको अगुवाइमा मङ्गलवार प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेलाई ज्ञापनपत्र बुझाइएको छ । पर्सा जिल्लाका विभिन्न नदीका कारण अहिले हजारौं बिघा जग्गा कटान, डुबानमा परेको र सयौं परिवार विस्थापित हुन बाध्य भएको भन्दै ज्ञापनमार्फत उनीहरूको उचित व्यवस्थापनको लागि माग गरिएको थियो ।
ज्ञापनपत्रमा बाढीपीडित घरपरिवारलाई क्षतिपूर्ति, घरविहीनलाई घरवास तथा कृषकहरूलाई क्षतिपूर्ति माग गरिएको छ । पर्साको ठोरी गाउँपालिकाको अमुवा, ठुटे, ओडार, खोलाले सो गापाका पाँचवटै वडा र ओरिया नदीले मालीबस्ती जोखिमपूर्ण अवस्थामा रहेको र हुलाकी राजमार्गसमेत कटान गरेको छ । यसैगरी, जीराभवानी गापा–१ बलुवा, पिपरा, भवानीपुर, चमरी, महादेवपट्टीमा पनि ठूलो क्षति पुगेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ओरिया खोलाले छिपहरमाई गापाका चारगाहा, मिर्जापुर, झल्महिया, जयमङ्गलापुर, भिस्वा र तुलसीबर्वा जलमग्न भएको भन्दै ज्ञापनपत्रमार्फत राहतको माग गरिएको छ । यसैगरी, ढोगई नदी, गङ्गोल खोला, सिकटा चन्द्रवती नदीको बाढीले जगरनाथपुर गापा–५ मधुवाहा, मसियानी, झखरा, धर्मपुर, हरपुर, सोहरी र सुपुर पिपरडारीमा र सिकटा नदीले कालिकामाई गापा–१ रविदास, गदियानी, भेडिहारीलगायतमा खेतीयोग्य जग्गामा बालुवा थुप्रिएर ठूलो क्षति भएको र मानवबस्तीमा पानी पसी क्ष्Fति भएको प्रदेशसभा सदस्य चौधरीले प्रजिअ अधिकारीलाई जानकारी गराए ।
ज्ञापनपत्र बुझाउन प्रदेशसभा सदस्य चौधरीसँगै नेपाली काङ्ग्रेसका महासमिति सदस्य बृहस्पतिकृष्ण श्रेष्ठ, क्षेत्रीय सभापति रमेश पाण्डे, जिल्ला सदस्य नवीन सिंह र क्षेत्रीय सचिव श्रीकान्त यादवलगायत सहभागी थिए ।