प्रस, परवानीपुर, १९ असार
अविरल वर्षाका कारण वीरगंजका अधिकांश वडा डुबानमा परेका छन्। भेडाहा खोला र श्रीसिया खोलामा आएको बाढीले सयौं बिघा जग्गाका साथै विभिन्न गाउँटोल डुबानमा परेका छन्। वीरगंज महानगरका आधा दर्जनभन्दा बढी वडाका विभिन्न टोल डुबानमा छन्। डुबानको कारण महानगरको वडा नं १ छपकैया, १० रानीघाट, ११ श्रीपुर र ३० को लालपर्साका करीब सय परिवार घरबारविहीन बनेका छन्। उनीहरूलाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ।
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले घरमा बाढी पसेकोले करीब एक सय परिवारलाई उद्धार गरी वीरगंज–११ स्थित नेपाल राष्ट्रिय विद्यापीठ मावि श्रीपुरमा राखिएको जानकारी गराए। शुक्रवार दिउँसोदेखि उद्धार गरी उनीहरूलाई विद्यालयमा राखिएको हो। महानगरले दैनिक उपभोग्यका सामान उपलब्ध गराएको छ। घरमा पानी पसेर खाद्यान्न, लत्ताकपडालगायतका सामान नष्ट भएको गाउँलेहरूले बताएका छन। नगरप्रमुख सरावगीले यो खतराको घण्टी भएकोले अबको दुई साता सतर्क रहन नगरवासीमा अनुरोध गरेका छन्।
अहिले नै सबै वडामा पानीको सतह बढेको छ, यसपालि अत्यधिक वर्षा हुने मौसमविज्ञहरूको प्रक्षेपण छ,” उनले भने,यो अहिले टेलर मात्र हो, सबैले समयमैं एकजुट भएर काम गरेनौं भने भयावह अवस्था आउँदैछ।” उनले बाढीले गर्दा हरेक वर्ष अर्बौैं मूल्यको भौतिक संरचना एवं धनजनको क्षति हुने गरेको स्मरण गराउँदै सचेत, सतर्क एवं सुरक्षित रहन अपील गरेका छन्।