प्रस, निजगढ, १९ असार/

एक हप्तादेखि परेको अविरल  वर्षाका कारण बाराको इलाका प्रहरी कार्यालय निजगढसहित दर्जनौं घर डुबानमा परेका छन्। शुक्रवार रातिको पानीले इलाका प्रहरी कार्यालय भवनको तल्लो तला डुबानमा परेको छ। शनिवार बिहानसम्म कार्यालय परिसरमा ४ फिटभन्दा बढी पानी जमेको थियो।

बिहान करीब ६ बजे राजमार्ग नाघेर पानी आउँदा प्रहरी कार्यालय भवनको तल्लो तला डुबानमा परेको हो। कार्यालय डुबानमा परेको कारण तत्कालै कार्यालय सञ्चालन गर्न कठिन भएको इप्रका निजगढले जनाएको छ। दैनिक काम गर्नुपर्ने मुद्दा फाट, थुनुवा कोठा, प्रहरी सुत्ने, बस्ने कोठा, भान्सा घर, शौचालयसमेत डुबानमा परेको प्रहरी निरीक्षक शङ्कर चौधरीले बताए।

प्रहरीको सवारीसाधनसमेत बाहिर निस्किन नसक्ने अवस्थामा छ। पानीले कार्यालयको मुख्य गेट भत्काएको छ भने भान्सा घर, शौचालयसमेत डुबानमा परेको छ। कोठाहरूमा पानी पसेका कारण विद्युत् आपूर्ति दिन नसकिने अवस्था छ। परिसरमा रहेका प्रहरी गस्ती भ्यानहरू तत्कालै निकाल्न सक्ने अवस्था छैन।

डुबान प्रभावित क्षेत्रमा निजगढ नपाले आवश्यकता हेरेर सहयोग गर्ने नगर उपप्रमुख लीलादेवी लामिछानेले बताएकी छन्। त्यसैगरी, राजमार्ग र भित्री क्षेत्रमा रहेको ६० भन्दा बढी घर डुबानमा परेका छन्। वर्षाको पानी तथा भेल बग्न राजमार्गले अवरोध गरेपछि उक्त क्षेत्रमा डुबान भएको हो। केही स्थानका नालाबाट पानीको निकास भएपनि मुख्य स्थानहरूमा नालाको आकार सानो हँुदा पानीको निकास नभएर घरघरमा पानी पसेको हो।

जथाभावी जग्गा प्लटिङ गर्ने, जमीनको सतह उकास्नेलगायतका अप्राकृतिक कार्य गर्दा र वर्षामा स्वाभाविकरूपमा बग्ने गरेको पानीको निकास व्यवस्थापनमा ध्यान नदिंदा डुबानको समस्या निम्तिएको हो।

वर्षाका कारण निजगढ नगरपालिकाकै वडा नं १०, १२ र १३  सडक सञ्जालबाट विच्छेद भएका छन्। लाल, भक्तलाल, खयर, बुङ्गजोर खोलालगायत अन्य आधा दर्जन खोलाखोल्सीहरूमा पुल नहुँदा सो वडाहरू अहिले पूरै सडक सञ्जालसँग सम्पर्कविहीन हुन पुगेका छन्। त्यसैगरी, सिंगौलमा समेत पानीले क्षति पु–याएको छ। वर्षाका कारण खेत डुबानमा पर्दा धान, मकै, केरालगायत अन्य बालीमा समेत क्षति पुगेको स्थानीय कृषकहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here