प्रस, वीरगंज, १५ असार/
पर्साको ग्रामीण क्षेत्रलाई सदरमुकाम वीरगंजसँग जोड्ने तिलावे पुलको निर्माण काम पाँच वर्ष बित्न लाग्दा पनि पूरा हुन सकेको छैन। पर्साको समग्र विकाससँग जोडिएको यस पुल ठेकेदारको बदमाशीका कारण काम पूरा नभएको हो।
पुलको निर्माण नहुँदा वीरगंज–पोखरिया तथा वीरगंज–सबैठवा सडकखण्ड भएर आउजाउ गर्ने सर्वसाधारणले सास्तीका साथै जोखिमपूर्ण यात्रा गर्नुपरेको छ। पुरानो जीर्ण पुलको चौडाइ साँघुरो भएकोले एक लेनको छ ।
बिहान र बेलुका उक्त पुल भएर आवतजावत गर्ने सवारीसाधन तथा यात्रुको सङ्ख्या अत्यधिक हुन्छ। यसले गर्दा बिहान र बेलुका घण्टौं ट्राफिक जाम हुने गरेको छ। “वीरगंज पुग्न बिहान ८ देखि ११ बजेसम्म निकै जाम लाग्छ, यो सधैंको पीडा हो, एक लेनको पुल भएकोले घण्टौंसम्म सवारीसाधनले कुर्नुपर्छ, कतिजना अस्पतालमा जाने बिरामी पनि जाममा फसेर सास्ती खेप्छन्,” पर्सा धोबिनी–२ आसवारीका सुरेश पटेलले भने, “नेताहरूले अरू केही नगरे पनि पुलको काम जतिसक्दो चाँडो सम्पन्न गर्न दबाब दिनुपर्छ।”
करीब रु ७ करोडको लागतमा निर्माणाधीन उक्त पुलको काम दुई वर्षमैं पूरा गर्नेगरी पप्पु/लुम्बिनी जेभीले सम्झौता गरेको थियो। बितेको पाँच वर्षमा तीन वर्ष पप्पु र पछिको दुई वर्ष लुम्बिनी बिल्डर्सले कामै नगरी बिताए । ठेकेदारले पुल निर्माण काममा विलम्ब गर्दा यस वर्षको बर्खामा पनि पर्साको ग्रामीण क्षेत्रका जनता जोखिम मोल्न बाध्य छ। बर्खाले पुलको दक्षिणपट्टि निर्माण गरिएको डाइभर्सन बगाएपछि अहिले पुरानो जीर्ण पुलबाट सबै प्रकारका सवारीसाधन ओहोरदोहोर गरिरहेका छन् । प्राविधिकका अनुसार पुल जीर्ण भएर बेलाबेलामा हल्लिने गरेकोले बढी भार थेग्न नसक्ने अवस्थामा पुगेको छ।
पुलको दुर्ई स्पानमध्ये पाँच वर्षमा एक स्पानको मात्र काम भएको छ। हुलाकी राजमार्ग आयोजनाभित्र पर्ने उक्त पुलको काम करीब ६५ प्रतिशत मात्र सम्पन्न भएको जनाइएको छ। २० महीना अगाडि लुम्बिनी बिल्डर्स र हुलाकी राजमार्ग आयोजनाबीच पुलको बाँकी काम अघि बढाउने दुर्ईपक्षीय सम्झौता भएको थियो। पुल निर्माणका लागि २०७३ असारमा पप्पु/लुम्बिनी जेभीले ठेक्का पाएको हो। पछिल्लो करीब चार महीनादेखि पुल निर्माणको काम रोकिएको छ। यसै असारसम्म पुल निर्माण गरिसक्नुपर्ने म्याद रहेकोमा कोरोना महामारीले काम रोकिएको लुम्बिनी बिल्डर्सका कार्यकारी निर्देशक विष्णु शर्माको भनाइ छ। अब लकडाउन खुलेपछि मात्रै काम अघि बढ्ने उनले बताए। कोरोना महामारीमा श्रमिक र निर्माण सामग्री उपलब्ध हुन नसक्दा पुल निर्माणको काम अघि बढाउन नसकेको उनले बताए।