प्रस, महोत्तरी, १४ असार/
महोत्तरी जिल्लाको गौशाला नगर अन्तर्गत वननजीकको क्षेत्रमा जङ्गली हात्तीको आतङ्क बढेको छ । गौशालामा एक महीनाभित्रै हात्तीले दुईपटक आतङ्क मच्चाएको छ ।
आइतवार राति गौशाला–१० मरहा खोलाछेउ बडहर्वा बस्तीका सातवटा घर जङ्गली हात्तीले भत्काएको छ । बडहर्वाका केशवबहादुर सिञ्जाली, मानबहादुर विश्वकर्मा, मङ्गलबहादुर विश्वकर्मा, धनबहादुर खड्का, बिनामाया बस्नेत, प्रदीप खड्का र रेशमबहादुर खड्काको घर हात्तीले भत्काएको छ ।
रातिको समयमा हात्ती बस्ती पसेपछि स्थानीयबीच भागाभाग भएको थियो । यसअघि गत जेठ २३ गते जङ्गली हात्तीले गौशाला–१० कै विश्वकर्मा चोकका तीनवटा घर भत्काएको थियो । त्यतिखेर तीनवटा हात्ती बस्ती पसेका थिए । आइतवार राति भने एउटा मात्रै हात्तीले सातवटा घर भत्काएको हो ।
सागरनाथ वन विकास परियोजनाको वनक्षेत्रबाट हात्ती बस्ती पसेको इलाका प्रहरी कार्यालय, गौशालाले जनाएको छ । घर तोडफोड गरेर नोक्सान गरेको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थल पुगी स्थानीय बासिन्दाको मदतले हात्तीलाई वनतिर लखेटेको इलाका प्रहरी कार्यालय, गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।
महोत्तरी, सर्लाही र धनुषाको उत्तरी क्षेत्रका चुरेनजीकका बस्तीहरूमा बर्सेनि जङ्गली हात्तीले आतङ्क मच्चाउने गरेको छ । चितवन राष्ट्रिय निकुञ्जबाट हात्ती यता आउने गरेको स्थानीयको अनुमान छ । पछिल्ला चार/पाँच वर्षदेखि चुरेनजीकका बस्तीमा हात्ती आतङ्क बढेको हो । यसरी प्रभावित क्षेत्रहरूमा खयरमारा, वरडाँडा, गणन्ता, भब्सी, पर्साहीधाप, रजवास, पाटु, सोनापेटी, चेरू र ढुङ्ग्रेसहित बर्दिबास नगरपालिका र गौशाला नगरपालिकाका वनक्षेत्रनजीकका बस्तीहरू छन् ।
जङ्गल मासिएपछि आहाराको खोजीमा हात्ती भौंतारिंदै बस्ती पस्ने गरेको वन्यजन्तु विज्ञहरूको भनाइ छ ।