प्रस, निजगढ, १ असार/
कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले प्रधानमन्त्री केपीशर्मा ओलीलाई असफल बनाउने कार्य भइरहेको आरोप लगाएकी छन्।

गृह जिल्ला बाराको सिमरामा सोमवार कार्यकर्तासँग भेटघाट गर्दै मन्त्री साहले राम्रो काम गरेर जनताको मन जितिरहेका प्रधानमन्त्रीलाई असफल बनाउने प्रयासस्वरूप चौतर्फी आक्रमण भइरहेको बताइन्। उनले देशलाई प्रधानमन्त्री ओलीको अझै खाँचो रहेको जिकिर गरिन्। उनले प्रधानमन्त्रीलाई दिइएको धम्कीको भत्र्सना गर्दै त्यस्तो अभिव्यक्ति दिनेमाथि कारबाईको माग गरिन्।

नेकपा एमाले प्रदेश २ की अध्यक्षसमेत रहेकी मन्त्री साहले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफूले नछाडेको तर उनले नै आफूलाई छाडेको दाबी गरिन्। पार्टी एकताले मान्यता नपाएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुट्टिंदै गर्दा साह एमालेमा रहेर मन्त्री बनेकी हुन्।

मन्त्री साहले किसानको समस्या समाधानका निम्ति आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता जाहेर गरिन्। उनले बर्सेनि किसानले भोग्दै आएका सिंचाइ, बीउबिजन र मलखाद आदिको समस्या आफ्नो कार्यकालमा हुन नदिने बताइन्। उनले किसानलाई सहुलियतमा सिंचाइ, बीउबिजन, मलखाद उपलब्ध गराउने वाचा गरिन्।

उनले प्रदेश २ मा भैंसीपालनसम्बन्धी अनुसन्धान केन्द्रको आवश्यकता देखिएको र यसका लागि आफूले योजना बनाउने बताइन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, फसल योजना बीमा, पशुपालन, दुग्ध किसानका लागि काम गर्ने उनको भनाइ थियो।

कार्यक्रममा जीतपुरसिमराका नगरप्रमुख डा कृष्ण पौडेल, उपप्रमुख सरस्वतीदेवी चौधरीलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here