प्रस, वीरगंज, १ असार/
जीराभवानी गाउँपालिका–१ पिपरामा केही घर डुबानमा परेपछि सुरक्षाकर्मी, जनप्रतिनिधिको सहकार्यमा डुबानमुक्त गरिएको छ।
पिपराका शङ्कर दास, किसुन महतो, जङ्गाली राय, खिचडी महतो, शिवशङ्कर दास, राजकुमार दास, सनोज दास, महेन्द्र शर्मालगायतका घर पानीको निकास बन्द हुँदा डुबानमा परेको थियो। मुहान थुनिएकोले वर्षाको पानीले गाउँ डुबानमा परेपछि सुरक्षाकर्मी, जनप्रतिनिधिहरूले तत्कालका लागि बन्द गरिएको मुहान खुला गरिदिएपछि डुबानमुक्त भएको थियो।
सुरक्षाकर्मी र जनप्रतिनिधिले वर्षापछि मुहान पूर्ववत्रूपमा बन्द गर्ने सहमति कायम गरी डुबानमा परेका पिपरावासीलाई राहत दिलाएका हुन्। केही दिनदेखि परिरहेको वर्षासँगै हिजो मुसलधारे पानी परेपछि पिपरा गाउँ डुबानमा परेको थियो।