प्रस, वीरगंज, ३१ जेठ/

पर्सा जिल्लामा सामाजिक सुरक्षा भत्ताबापत अहिले पनि रु २६ करोड ९७ लाख ६४ हजार ६१३ निकासा गरिएको छैन।

असार मसान्तसम्म चालू आवको तेस्रो चौमासिक किस्ताबापत सामाजिक सुरक्षा भत्ता जिल्लाका १४ वटा पालिकाले वितरण गर्नुपर्नेमा असार शुरू हुन लाग्दा पनि कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साको खातामा रु २६ करोड ९७ लाख ६४ हजार ६१३ रहेको छ। १४ वटा पालिकामध्ये जीराभवानी गापाले मात्र अहिलेसम्म तेस्रो चौमासिक किस्ताबापतको सबै रकम निकासा गरेको छ। सो पालिकामा रु ४ करोड २९ लाख ३३ हजार ६ सय सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा भएर वितरण भइसकेको कोलेनिकाको तथ्याङ्कले देखाउँछ।

यसैगरी, पटेर्वासुगौली गापाले पनि तेस्रो चौमासिकबापत रकम निकासा गरेको छ। यो पालिकामा रु ३ करोड २८ लाख ७३ हजार रकम निकासा हुनुपर्नेमा रु ३ करोड १० लाख ४२ हजार ९२० निकासा भएको छ। बाँकी १२ वटा पालिकामा अहिले पनि रु २६ करोड ९७ लाख ६४ हजार ६१३ निकासा हुन बाँकी रहेको कोलेनिकाका कम्प्युटर अपरेटर मनीष गौतमले बताए।

वीरगंज महानगरपालिकामा सामाजिक सुरक्षा भत्ताबापत सबैभन्दा बढी तीनवटै चौमासिक गरी कुल रु २७ करोड २८ लाख २५ हजार वितरण हुन्छ। तर महानगरपालिकाले अहिले दोस्रो चौमासिकबापत रु १९ करोड ६० लाख ७१ हजार २४८ निकासा गरेको छ। तेस्रो चौमासिकको रकम महानगरले निकासा गरेको छैन।

त्यस्तै पोखरिया, बहुदरमाई, पर्सागढी नगरपालिका, पकाहामैनपुर, कालिकामाई, धोबिनी, ठोरी, विन्ध्यवासिनी, सखुवाप्रसौनी, जगरनाथपुर र छिपहरमाई गाउँपालिकाले पनि सामाजिक सुरक्षा भत्ताबापत रकम निकासा गरेका छैनन्।

कोलेनिकाले दोस्रो चौमासिकको रकम फछ्र्यौट गरेका पालिकाहरूको खातामा तेस्रो चौमासिकको रकम पठाउने गरेको जनाएको छ। वीरगंज महानगरपालिकाले तीन हप्ताअगाडि दोस्रो चौमासिक रकम बैंकमा पठाइसकेको छ तर बैंकले अहिलेसम्म सम्बन्धित खातामा पोस्टिङ नगर्दा रकम वितरण हुन सकेको छैन।

केही पालिकामा पनि महानगरजस्तै समस्या छ। निषेधाज्ञाको कारण बैंकमा कार्यरत कर्मचारी सङ्ख्याको एक तिहाइ कर्मचारीले काम गर्नुपर्दा जनशक्ति अभावमा पोस्टिङ गर्न र वितरण गर्न समस्या भएको छ। यसका साथै स्वास्थ्य सुरक्षा मापदण्ड पु–याएर वितरण गर्दा केही पालिकामा लामो समय लागिरहेको छ।

निवृत्तिभरण वितरणमा पनि ढिलाइ

पर्सा जिल्लामा निवृत्तिभरण लिनेहरूले जेठ महीनाको निवृत्तिभरण पाउन ढिला भएको गुनासो गरेका छन्।

प्रत्येक महीनाको २५ गते बैंकबाट निवृत्तिभरण बुझ्दै आएका निवृत्तिभरणधारीहरूले यसपटक भने बैंकले अहिलेसम्म निवृत्तिभरण नदिएको गुनासो गरेका छन्। उनीहरूले २५ गतेदेखि वीरगंजस्थित नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको चक्कर काट्दा–काट्दै थाकेको प्रतिक्रिया दिएका छन्।

नेपाल बैंक लि.मा १२९४ जना र राष्ट्रिय वाणिज्य बैंकमा ११३३ जना गरी २ हजार ४ सय २७ जनाले निवृत्तिभरण बुझ्दै आएका छन्। बैंकले अहिलेसम्म तोकिएको मितिमा निवृत्तिभरण दिने गरेको तर अहिले ढिला गरेको एकजनाले गुनासो गरे। उनले नेपाल बैंक लि. सिटी कार्यालयबाट निवृत्तिभरण बुझ्दै आएको तर यसपटक सो बैंकले माईस्थान, श्रीपुर शाखासम्म दौडाएको र त्यहाँ पनि निवृत्तिभरण नदिएको गुनासो गरे।

नेपाल बैंक लि. र राष्ट्रिय वाणिज्य बैंक दुवैमा अनलाइन सेवा छ। सम्बन्धित बैंकको एउटा शाखामा जम्मा भएको रकम नेपालभरिका कुनै पनि शाखाबाट लिन सक्ने व्यवस्था भएपनि तोकिएकै शाखामा निवृत्तिभरण लिनुपर्ने बाध्यता बनाइएको छ। जसले गर्दा निवृत्तिभरणधारीहरू थप दुःख भोग्दैछन्।

कोष तथा लेखा नियन्त्रण कार्यालय, पर्साले निवृत्तिभरणधारीहरूको रकम केन्द्रीय कार्यालयबाट सबै बैंकमा पठाउने गरेको जनाएको छ। कोलेनिका पर्साका कम्प्युटर अपरेटर मनीष गौतमले केन्द्रीय कार्यालयले निवृत्तिभरणको रकम सम्बन्धित बैंकमा पठाएको बताए। तर बैंकले भने भुक्तानी नदिएको निवृत्तिभरणधारीहरूको गुनासो छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here