प्रस, वीरगंज, ३१ जेठ/

पर्सा जिल्लामा भेरोसिल खोप केवल ३७ प्रतिशतले मात्र लगाएका छन्। जेठ २८ र २९ गते जिल्लाका १४ वटै पालिकाको वडास्तरमा भेरोसिल खोपको पहिलो मात्रा ६२ देखि ६४ वर्ष उमेरका व्यक्तिलाई लगाइएको थियो।

जिल्लामा १२ हजार ३ सयजना यो उमेरका छन्। यीसँगै दुईवटा मेडिकल कलेजका एमबिबिएस गरेका इन्टर्नहरूलाई पनि खोप लगाउने कार्यक्रम थियो। लक्षित १२ हजार ३ सयजनामध्ये केवल ४ हजार ५ सय ५४ जनाले मात्र भेरोसिल खोप लगाएको स्वास्थ्य कार्यालय, पर्साका खोप अधिकृत अनिल सिंहले बताए। उनले खोपप्रति आम जनसमुदायमा विश्वास जागृत हुन नसक्दा कमै व्यक्तिले खोप लगाएको बताए। वीरगंज महानगरमा मात्र भेरोसिल खोप २५ सयजनाले मात्र लगाएका छन् भने १३ वटा पालिकामा जम्मा २ हजार ५४ जनाले मात्र लगाए।

यसअघि, पहिलो चरणमा कोभिशिल्ड खोप लगाउँदा मानिसहरूको भीड थियो। अहिले पनि कोभिशिल्डको दोस्रो मात्रा लगाउन पर्सा जिल्लामा २६ हजार मानिस बाँकी छन्। कुल ३५ हजारजनाले कोभिशिल्डको पहिलो मात्रा लगाएकामा दोस्रो मात्रा लगाउनेको सङ्ख्या ९ हजार मात्रै रह्यो।

भारतले कोभिशिल्ड खोप दिन अस्वीकार गरेपछि अहिले नेपालमा चीनबाट प्राप्त अनुदानको भेरोसिल खोप जेठ २५ गतेदेखि ६२ देखि ६४ वर्ष उमेरका नागरिकलाई देशव्यापीरूपमा लगाइएको थियो। पर्सा जिल्लामा चिनियाँ खोपविरुद्ध गलत प्रचारबाजी भएको कारण खोप लगाउनेहरूको सङ्ख्या पातलिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here