प्रस, सप्तरी, ३१ जेठ/

सप्तरीको राजविराजस्थित हटिया बजारमा निर्माणाधीन शपिङ कम्प्लेक्सको काम अलपत्र परेको छ।

दुई तले शपिङ कम्प्लेक्स निर्माण कार्य बितेको ६ महीनादेखि बन्द छ।

शहरी विकास मन्त्रालयले दिएको बजेटबाट निर्माण हुन लागेको कम्प्लेक्सको लागि पछिल्लोपटक मन्त्रालयले बजेट निकासा नदिएको कारण निर्माण कार्य अगाडि बढ्न नसकेको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताएका छन्। मन्त्रालयबाट बजेट दिएपछि मात्रै निर्माण सुचारु गर्न सकिने प्रमुख यादवको भनाइ छ। रकम नपाएपछि निर्माण कम्पनीले भवन निर्माण अवरुद्ध गरेको भन्दै उनले मन्त्रालयको बजेटबाट निर्माण भइरहेको काममा पालिकाले अनुगमन तथा सहजीकरण गर्नुबाहेक अरू केही गर्न नसक्ने नगरप्रमुख यादवले बताए।

शहरी विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले मन्त्रालयबाट पाएको कुल रु ३५ करोड बजेटमध्ये रु १९ करोडको लागतमा दुई तले शपिङ कम्प्लेक्स निर्माण गर्ने योजना छ। अहिले शहरी विकास मन्त्रालयले समयमा बजेट नदिएकोले रकम अभावमा निर्माण कार्य अलपत्र अवस्थामा रहेको नगरवासीको भनाइ छ।

हटिया व्यवस्थित गर्न कुल ३०८ कोठा रहनेगरी दुई तले भवन निर्माण तीन वर्षभित्र गर्नुपर्ने सम्झौता छ। निर्माण शुरू भएको अहिले दुर्ई वर्ष बितिसकेको छ। निर्माणको ठेक्का पाएको रसुवा रोशन जेभी निर्माण कम्पनीले व्यतीत समयको अनुपातमा काम गर्न सकेको छैन।

काम गरेको रकम नपाएको र कोरोना महामारीको कारण पनि काममा रोकावट आएको निर्माण कम्पनीले जनाएको छ। समयमा रकम भुक्तानी पाए र कोरोना महामारी अन्त्य भएमा अझै पनि निर्धारित समयसीमाभित्रै योजना सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीको दाबी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here