प्रस, जनकपुरधाम, ३१ जेठ/
राति–राति अवैधरूपमा गिट्टी बालुवा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले औरही खोलाबाट जेसिबी र टिपर नियन्त्रणमा लिएको छ। आइतवार राति १ बजेको समयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले एउटा टिपर र एउटा जेसिबी नियन्त्रणमा लिएको हो। ना.७ख १६७३ नं को जेसिबी र ज.१त ६२१ नं को टिपर नियन्त्रणमा लिएको इप्रका महेन्द्रनगरका प्रमुख तथा प्रहरी निरीक्षक तिलक सुनारले जानकारी गराए। मध्यरातमा खोला उत्खनन भइरहेको सूचना पाएपछि प्रहरी टोली खोलामा पुगेको उनले बताए। खोला ठेक्कै नलागेको अवस्थामा अवैध तरीकाले नदीजन्य पदार्थ झिकिरहेको दसी प्रमाणसहित फेला परेपछि स्थानीयको सहयोगमा सवारीसाधन नियन्त्रणमा लिन खोज्दा जेसिबी र टिपरका चालक भने फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिएको जेसिबी सोही खोलानजीक कमलदेव यादवको र टिपर रामकुमार महतोले सञ्चालन गरिरहेको बालुवा प्रशोधन उद्योगको रहेको प्रहरीले बताएको छ।