प्रस, महोत्तरी, २९ जेठ/
महोत्तरीमा भाइको हत्या अभियोगमा दाजुसहित दुईजना पक्राउ परेका छन्। सहोदर भाइको हत्या अभियोगमा जिल्लाको लोहारपट्टि नगरपालिका वडा नं ७ भ्रमरपुरा निवासी रामचन्द्र साह र भतिजा उमेश साह पक्राउ परेका हुन्।

आफ्नै दाजु र भतिजा भएर ४५ वर्षीय लक्ष्मण साहको हत्या गरेको किटानी जाहेरी परेको र सोही आधारमा मृतकका दाजु रामचन्द्र र भतिजा उमेशलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। घटना विवरण अनुसार बितेको बुधवार घरमा कुलदेवताको स्थान कता राख्ने भन्ने र पूजा आराधनाको विषयमा दाजुभाइबीच विवाद भएको थियो। सो विवाद झडपमा परिणत हुँदा दाजु र भतिजाको आक्रमणबाट लक्ष्मण गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि काठमाडौं पठाइएकोमा लक्ष्मणको शुक्रवार मृत्यु भएको हो। झडपमा संलग्न दुईजनालाई शनिवार पक्राउ गरिएको र अन्य को को थिए भन्नेबारे अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। पक्राउ परेका दुवैलाई जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here