प्रस, निजगढ, २८ जेठ/
निजगढ नगरपालिकाको निर्देशनमा निजगढ नपा–८ स्थित बकैयाखोला ड्यामछेउमा पोखरी निर्माण हुन थालेपछि शुक्रवार डिभिजन वन कार्यालय बाराले रोक लगाएको छ।
बकैया–नागमणि सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्र पर्ने भएपनि सहमतिविना निजगढ नगरपालिकाले जबरजस्ती पोखरी खन्न थालेपछि रोकेको डिभिजन वन कार्यालय बाराले जनाएको छ। सहमतिविना पोखरी खन्न थालेको जानकारी पाएपछि सो वन समूहका अध्यक्ष रविराज दङ्गालसहितका पदाधिकारी, वन कर्मचारी पुगी सो कार्य आज रोकेका हुन्।
चार दिनअघि पनि राति करीब ९ बजे सोही स्थानमा पोखरी खन्न थालेपछि स्थानीयहरूले विरोध गरेपछि एक्साभेटर त्यहाँबाट हटाइएको स्थानीयले बताए। खयरघारी सुकुमबासी बस्तीनजीकै गत वर्ष पोखरी खन्ने योजना बनेपछि स्थानीयहरूले व्यापक विरोध गर्दै आइरहेका छन्। स्थानीयहरूले बस्तीनजीकै पोखरी खन्दा बस्तीका बालबालिका डुबेर ज्यानै जाने घटना हुन सक्ने भन्दै सो कार्यको विरोध गर्दै आएका छन्। यस वर्ष यहाँ पोखरी खन्न र गारो उठाउन १० लाख रुपैयाँ निजगढ नगरपालिकाले विनियोजन गरेको छ।
स्थानीय वन समूह र वन कार्यालयसँग सहमति लिई पोखरी खन्न उपयुक्त स्थान खोज्न सकिने भएपनि निजगढका केही जनप्रतिनिधिले यसतर्फ ध्यान नदिई जबरजस्ती गर्न खोजेका छन्। सुकुमबासी बस्तीछेउ पोखरी खन्दा यसबाट फाइदाभन्दा बालबालिका दुर्घटनामा पर्न सक्ने सम्भावना धेरै देखिन्छ।
यता पोखरीको स्थान चयन र अहिले विवादका बारे आफूलाई कुनै जानकारी नआएकोले सो स्थानको स्थलगत निरीक्षण गर्ने निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले जानकारी दिए।
निजगढ सबडिभिजन वन कार्यालय तामागढीका सशस्त्र वनरक्षक, कर्मचारीले वन कार्यालयसँग सहमतिविना कुनै कार्य नगर्न भनेपछि पोखरी खन्ने कार्य अहिले रोकिएको छ। गत वर्षको असार १७ गते वन कार्यालयको अनुमति नलिई पोखरी खनेको सूचना पाएपछि सो कार्यमा संलग्न एस्काभेटर चालकसहित दुईजनालाई वन कार्यालयले नियन्त्रणमा लिएको थियो।