नितेश कर्ण, वीरगंज, २७ जेठ/
पर्सा जिल्लामा आत्महत्याका घटना बढ्दो छ। विगत केही वर्षदेखि आत्महत्याका घटना बढेको हो।
आव २०७४/७५ मा ६८, २०७५/७६ मा ७८ र २०७६/७७ मा आत्महत्याका ९५ वटा घटना भएका थिए। त्यस्तै, चालू आवको जेठ १५ गतेसम्म १०८ वटा आत्महत्याका घटना भइसकेका छन्।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले निराशा र असफलताका कारण आत्महत्याका घटना हुने गरेको बताए। उनले परीक्षा, व्यवसाय, प्रेम प्रसङ्ग आदिमा असफल भएकाहरूले आत्महत्या गर्ने गरेको बताए।
यसैगरी, क्रोनिक रोग, अवसाद, घरेलु हिंसा, सामाजिक सञ्जालको दुरुपयोग, लागूपदार्थको सेवनलगायतका कारणबाट पनि आत्महत्याका घटना हुने गरेको बताए। पर्सा जिल्लामा झुन्डिएर र विषसेवन गरी आत्महत्या बढी हुने गरेको तथ्याङ्कले देखाएको छ। आगो लगाएर, हाम फालेर आत्महत्याका घटना छिटपुट हुने गरेको र बढी मात्रामा झुन्डिएर तथा विषसेवन गरेर आत्महत्या हुने गरेको प्रनाउ खनालले बताए। गत वर्ष आत्महत्याका घटना बढेको र त्योभन्दा पनि यस वर्ष झनै बढेको उनले बताए।