राधेश्याम पटेल, वीरगंज, २६ जेठ/

बारा, प्रसौनी गापाको पतञ्जलिदेखि नकटुवा टोल जोड्ने सडकखण्ड ढलान गर्ने योजनामा ठेकेदार पक्षले बदमाशी गरेको छ। हिजोदेखि शुरू भएको सडक ढलानमा खेतमा जमेको हिलो–पानी मसला बनाउन र भुइँमा छर्कने काममा प्रयोग भइरहेको गाउँलेले गुनासो गरेका छन्।

सङ्घ सरकार र गापा सरकारको सशर्त अनुदानको करीब रु ८६ लाखको बजेटमा बन्ने सो सडक यसै असार मसान्तभित्र सम्पन्न हुनुपर्नेछ। त्यसै कारण प्रज्ञा कन्स्ट्रक्शन प्रालि वीरगंजले गुणस्तरहीन भएपनि धमाधम काम गरिरहेको गाउँलेले गुनासो गरेका छन्।

नकटुवाका ललन पटेलका अनुसार बजेटको दुरुपयोग भइरहेको देखेपछि काम रोक्न ठेकेदार पक्षलाई ताकेता गरेको बताए। “एक त गलत डिजाइनमा सडक ढलान भइरहेको छ, पूर्वको सरेहको करीब २० बिघा जग्गा डुबानमा पर्ने खतरा छ, ठाउँठाउँमा ह्युमपाइप हाल्न भनेका थियौं, हालिएन, एक ठाउँमा मात्र कजवे निर्माण गर्ने भनिएको छ, अर्को पूरै सडक ढलान भइरहेको छैन, करीब दुई सय मिटर सडक कच्ची नै रहनेछ। यसले वर्षात्मा गाउँलेलाई दुःख हुन्छ,” उनले भने, “रोलर नचलाइ फोहर पानीले मसला बनाइएको छ, त्यस कारण बाध्य भई काम रोक्न भनेका छौं।”

ठेकेदारले ९०४ मिटर लामो, पाँच मिटर चौडा र ६ इन्च मोटो सडक ढलान गर्नुपर्नेमा सो अनुसार काम नगरेको पनि गाउँलेको भनाइ छ। सडकको मोटाइ ठाउँठाउँमा ६ इन्चभन्दा कम छ। दुई दिनमा करीब २० मिटर ढलान भएपछि विरोध हुँदा काम ठप्प पारिएको छ। जबसम्म राम्रो काम गर्ने वातावरण ठेकेदारले बनाउँदैन,काम शुरू गर्न नदिने गाउँलेको भनाइ छ।

यसै विषयमा सोमवार गापाका प्राविधिक र गाउँलेबीच काम रोक्ने विषयमा विवाद हुँदF गापा अध्यक्ष भोला कलवारले ३/४ जना गाउँलेविरुद्ध हातपात गरेको भनी झूटो निवेदन दिएको गाउँलेले बताएका छन्। गलत कामको विरोध गर्दा स्याबासी दिनुपर्नेमा प्रहरीबाट थुन्न लगाउने भनेर थर्काएको गाउँलेको आरोप छ। गापा अध्यक्ष कलवारसँग बुझ्दा सडक ढलानको काम नहोस् भनेर केही गाउँलेले विरोध गरेको स्वीकार गर्दै समस्या समाधानको लागि प्रयासरत रहेको बताए। गापाका कर्मचारीसँग केही गाउँलेले दुव्र्यवहार गरेको कर्मचारीबाट गुनासो आएपछि प्रहरीमा निवदेन दिएको र दुवै पक्ष बसेर छलफलबाट विवाद टुङ्ग्याउने उनले बताए। उनले ट्याङ्करबाट सफा पानी ल्याउन लगाएर राम्रो काम गराउने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here