प्रस, जनकपुर, २६ जेठ/
मुख्यमन्त्री लालबाबू राउत गद्दीले स्थानीय तहलाई पठाएको सशर्त अनुदान सच्चाउने बताएका छन्।
बुधवारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गद्दीले स्थानीय तहलाई पठाएको सशर्त अनुदान सच्याउने प्रतिबद्धता जनाए।
मुख्यमन्त्री गद्दीले भने, “प्रदेश सरकारको मुख्यमन्त्रीको हैसियतले प्रदेशसभामा गरेको प्रतिबद्धता पूरा गर्न नसक्नु लज्जास्पद हो, किनभने नहुनुपर्ने काम भएको छ। सच्याउन सकिन्छ भने सच्याएर अगाडि बढ्छु।” उनले रोस्टममा बोलेको कुरा इमानदारीका साथ पालना गर्ने पनि बताए।
स्थानीय तहलाई प्रदेश सरकारले पठाउने सशर्त अनुदानको विषयमा समिति बनाएर योजना छनोट गर्न सरकारले कार्यविधि बनाएर सांसदहरूबाट आएका योजनाहरू सामेल गर्ने प्रयास भएपनि भूलवश छुट्न गएको मुख्यमन्त्री गद्दीले स्वीकारे।
मुख्यमन्त्री गद्दीले जवाफ दिएपछि प्रदेशसभा बैठकमा विनियोजन विधेयक, २०७८ को सिद्धान्त, उद्देश्य, प्राथमिकता तथा प्रमुख नीति सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल शुरू भएको छ।
विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले दिएका छन्। प्रदेशसभाको अर्काे बैठक बिहीवार दिउँसो ३ बजे बस्नेछ।
मङ्गलवार विपक्षी दलहरू नेकपा एमाले, नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले स्थानीय तहलाई पठाएको सशर्त अनुदान सांसदहरूसँग सल्लाह नै नगरी पठाएको भन्दै बैठक अवरुद्ध गरेका थिए।