धनुषा, २६ जेठ/रासस

प्रदेश नं २ सरकार पुनर्गठनका सन्दर्भमा जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव समूह), नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रबीच सहकार्य गर्ने सहमति भएको छ।

केन्द्रमा सत्ता समीकरणको विषयलाई लिएर प्रदेश नं २ को सत्तारूढ दल जसपाभित्र विवाद चर्किएपछि उपेन्द्र यादव पक्षबाट मुख्यमन्त्री बनेका लालबाबू राउत गद्दीले महन्थ ठाकुर पक्षका चारजना मन्त्री बर्खास्त गरेपछि काङ्ग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने विषयमा सहमति भएको हो।

जनकपुरमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव आफैं तीन दिनदेखि लगातार काङ्ग्रेस र माओवादी केन्द्रका नेताहरूसँग छलफलमा व्यस्त छन्। सत्ता साझेदारीबारे वार्ता गर्न भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय सम्मिलित समिति पनि सक्रिय रहेको र सो समितिले विभिन्न चरणमा काङ्ग्रेस र माओवादी केन्द्रसँग छलफल गरेको छ।

जसपा, काङ्ग्रेस र माओवादी केन्द्रबीच विभिन्न चरणमा छलफल भएपनि मन्त्रालय बाँडफाँडको विषयमा सहमति हुन सकिरहेको थिएन तर मङ्गलवार साँझ भएको छलफलपछि सत्ता सहकार्यका लागि ती दलहरूबीच सहमति भएको बुझिएको छ। सहमति अनुसार काङ्ग्रेसले तीनवटा र माओवादी केन्द्रले दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनेछन्।

दलहरूबीच मन्त्रालयमा भागबन्डा नमिलेपछि मुख्यमन्त्री गद्दीले मन्त्रालय फुटाउने तयारी गरेको बताइएको छ। अहिले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, भूमि व्यवस्था कृषि तथा सहकारी, आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन, वन तथा वातावरण गरी ६ वटा मन्त्रालय छन्। सहमति अनुसार काङ्ग्रेस र माओवादी केन्द्रलाई दिन चारवटा मन्त्रालय टुक्रयाएर १० वटा पु–याउने तयारी छ। जसपाका तर्फबाट प्रदेशसभा सदस्य रामाशिष यादवका अनुसार सामाजिक विकासलाई टुक्रयाएर नयाँ मन्त्रालयका रूपमा शिक्षा तथा स्वास्थ्य बनाइनेछ। आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सञ्चार झिकेर नयाँ मन्त्रालय बनाउने तयारी छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि तथा सहकारीलाई अलग गर्ने र उद्योग, पर्यटन, वन तथा वातावरणबाट वन तथा वातावरणलाई अलग गरेर चारवटा मन्त्रालय थप्ने प्रदेश सरकारको तयारी छ।

स्रोतका अनुसार काङ्ग्रेस रामसरोज यादवको नेतृत्वमा र माओवादी केन्द्र भरत साहको नेतृत्वमा सरकारमा सहभागी हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here