प्रस, वीरगंज, २६ जेठ/
ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले कोरोनाको दोस्रो लहरमा सञ्चालनमा ल्याएको निश्शुल्क चिकित्सा सेवा तथा अक्सिजन बैंक सेवा बन्द गरेको छ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले वैशाख १० गतेदेखि सञ्चालित निश्शुल्क अक्सिजन सेवा हालका दिनमा माग घटेको र सहज उपलब्ध भइरहेकाले बन्द गरिएको बताए।
यसैगरी, सङ्क्रमण दर घटेको र होम आइसोलेशनमा बस्ने तथा समस्याग्रस्त बिरामीको अवस्था पातलिएसँगै चिकित्सा सेवाको माग घटेकाले दुवै सेवा बन्द गरिएको बताए। निश्शुल्क अक्सिजन सेवाबाट ३१० जना लाभान्वित भएका र चिकित्सा सेवा ८० जनालाई दिइएको उनले बताए। चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली घरदैंलोमा पुगी सेवा प्रदान गर्दै आएका थिए।