प्रस, वीरगंज, २५ जेठ/
नारायणी अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले सङ्क्रमण नियोजित र निर्देशित तवरबाट नभई स्वतः घटेको बताएका छन्। उनले अहिले शङ्कास्पद सङ्क्रमितहरू आउने क्रम कम भएको र यससँगै सङ्क्रमण दर घटेको बताए। संयोजक डा सिंहले यसअघि पनि अस्पतालमा शङ्कास्पद सङ्क्रमितहरू आएर स्वाब नमूना दिने र सोको परीक्षण हुने गरेकोमा अहिले पनि सो क्रम जारी रहेको बताए। उनले सङ्क्रमण दर घट्नुमा अरू कुनै कारण नभई शङ्कास्पद सङ्क्रमितहरूको उपस्थिति कम भएकोले हुन गएको बताए। उनले अहिले दैनिकरूपमा सङ्कलित स्वाब नमूनाको सोही दिन परीक्षण हुने गरेको र सोको रिपोर्ट पनि सार्वजनिक गर्ने गरिएको बताए।
पहिलो लहरको कोरोनाकालमा जिल्ला स्वास्थ्य कार्यालयले कन्ट्याक्ट टे«सिङ र यात्रा विवरण अनुसार शङ्कास्पदहरूको स्वाब नमूना सङ्कलन गर्ने गरेको भएपनि यसपटक त्यस्तो कार्य नभएकोले पनि सङ्क्रमित दर घटेको उनको भनाइ थियो। अहिले अस्पतालमा मात्र पिसिआर परीक्षण भइरहेको र शङ्कास्पद सङ्क्रमितहरू अस्पतालमैं आएर स्वाब नमूना दिने गरेको संयोजक डा सिंहले प्रस्ट्याए।
नारायणी अस्पतालमा हुने पिसिआर परीक्षण डेढ सातादेखि निकै घटेपछि यसबारे विभिन्न टीकाटिप्पणी शुरू भएको थियो। नियोजितरूपमा सङ्क्रमण दर घटाइएको भनी आरोप लगाउने कार्य भइरहेको थियो। यस सम्बन्धमा संयोजक डा सिंहले सङ्क्रमण दर घट्नुमा कुनै प्रायोजित र नियोजित काम नभएको बताए। दोस्रो लहरको शुरूको बेला धेरै शङ्कास्पद व्यक्ति स्वाब सङ्कलनका लागि आएका बेला सङ्क्रमण दर बढेको थियो भने यतिखेर अहिले उनीहरूको उपस्थिति पातलिएर सङ्क्रमण दर पनि कम देखिएको र सोही अनुसार अस्पतालले रिपोर्ट सार्वजनिक गर्ने गरेको डा सिंहले बताए।
यसैबीच, उनले आज एकजना सङ्क्रमितको मृत्यु भएको बताए। लालबन्दी नगरपालिका–७ सर्लाही निवासी ५६ वर्षीय पुरुषको मङ्गलवार बिहान १० बजे मृत्यु भएको हो। उनी जेठ ११ गते अस्पतालमा भर्ना भएका र १२ गते सङ्क्रमित पुष्टि भएका थिए।