पर्साको ठोरी गाउँपालिकाले आफूलाई कोरोना सङ्क्रमणमुक्त पालिका घोषणा गरेको छ। पहिलो लहरताका २/३ जना मात्रै सङ्क्रमित देखिएको ठोरीमा दोस्रो लहरमा हालसम्म १९ जना पुगेछ। यो त जसले पालिकासँग परीक्षण गरायो, उनीहरूको तथ्याङ्क मात्रै हो। कतिपय व्यक्ति लक्षण नदेखेरैै सङ्क्रमणमुक्त भए होलान्, कतिले लक्षण देखिए पनि परीक्षण नगराएको पनि हुन सक्छ। जेहोस्, परीक्षणमा सङ्क्रमण पुष्टि भए जति सबैजना सङ्क्रमणमुक्त भएका छन्। डेढ वर्ष पहिले चीनको वुहानबाट शुरू भएको कोरोना भाइरसले आजसम्म आइपुग्दा कैयौंपटक आफ्नो स्वरूप परिवर्तन गरिसक्यो। त्यसमध्ये मानवको लागि घातक सातवटा मानिएका भए तापनि मुख्यतः तीनवटा स्वरूपले मानवलाई क्षति पु–याइरहेको छ। हाम्रो मुलुकले पहिलो र दोस्रो भेरियन्टको सामना गरिरहेको छ। दोस्रो भेरियन्टबाट सङ्क्रमणमुक्त पालिकाहरू मुुलुकमा अति कम छन्। पहाड र हिमाली क्षेत्रका केही पालिका जहाँ दोस्रो भेरियन्ट पुगेकै छैन, उनीहरू मुक्त छन्। पर्सामा १४ वटा पालिकामध्ये दोस्रो भेरियन्टले छोएर पनि सङ्क्रमणमुक्त घोषणा भएको ठोरी पहिलो स्थानीय तह हो।
जिल्ला सदरमुकामदेखि सबैभन्दा लामो दूरीमा रहेको ठोरीको कथाव्यथा आफ्नै किसिमको छ। पहिलो या दोस्रो दुवै भेरियन्टमा ठोरीका सङ्क्रमितहरूको सूची जिल्लामा छैन। पहिलो भेरियन्टताका एन्टिजेन प्रविधि नहुँदा क्वारेन्टाइनमा बसेका ठोरीवासीको स्वाबको पिसिआर परीक्षण काठमाडौंमा हुन्थ्यो। सुखले होइन, दुःखले। जिल्लाले ठोरीलाई हेर्ने फुर्सद नै नपाएपछि निकुञ्जको जङ्गलमा तैनाथ नेपाली सेनाको सहयोगमा स्वाब काठमाडौं पु–याएर परीक्षण गरिन्थ्यो। चालू दोस्रो भेरियन्टमा पनि ठोरीका सङ्क्रमित एवं सङ्क्रमणमुक्त हुनेहरूको दैनिक सूची जिल्लामा जोडिएको पाइएन। “आज जिल्लामा कतिजना सङ्क्रमित ?” सञ्चारकर्मीले सूचना माग्दा ठोरीबाहेकको तथ्याङ्क मात्रै जिल्लाका आधिकारिक निकायहरूबाट पाइरहेको अवस्था छ। सहारा नपाउने स्वतः आफैं सक्षम बन्नेछ, यो प्रकृतिको नियम हो। ठोरीमा पनि यही नियम लागू भएको छ। उसले आफ्नो तयारी आफैं गरिरहेको छ। कोरोनाविरुद्धको अभियानमा एन्टिजेन आफैं खरीद गरेर परीक्षण गरिरहेको र अक्सिजन कन्सेन्ट्रेटरसहितको कोरोना अस्पताल आफ्नै स्रोतबाट सञ्चालनमा ल्याएको पालिकाको रूपमा पनि ठोरीले पहिचान बनाएको छ।
घर, टोल, वडा हुँदै पालिका सङ्क्रमणमुक्त हुने हो। पालिका हुँदै जिल्ला सङ्क्रमणमुक्त हुन्छ। सबै पालिकाले आआफ्नो स्थानबाट क्रियाशील भए मात्र यो सम्भव छ। कोरोना हाम्रो माटोमा उम्रँदैन। अहिलेसम्मको अध्ययन अनुहार टाढाबाट बतासिएर आउने हावा वा प्रकाशले पनि ल्याउँदैन। सङ्क्रमणको मुख्य माध्यम मानिसले नै हो। सङ्क्रमण भएको दश दिनपछि अरूलाई सर्दैन भन्ने छ। उसो हो भने पालिकाभन्दा बाहिरबाट आएकालाई मापदण्ड अनुसारको १४ दिन होम क्वारेन्टाइन, शङ्कास्पद वा सङ्क्रमितलाई आइसोलेशन र आयातित सामानलाई तोकिए अनुसार भण्डारणमा कडाइ गर्ने हो भने कोरोना नफैलने र मुक्त भइने स्पष्ट छ। यही प्रक्रियाबाट सफलता प्राप्त गरेको ठोरीलाई बधाई छ। कोरोनामुक्त अवस्थालाई निरन्तरता दिन सकोस् शुभकामना। तर मुक्त भइयो भनेर लापरवाही थालियो भने पुनः सङ्क्रमण निश्चित छ। त्यसैले थप सचेतना पनि जरुरी छ।