राधेश्याम पटेल, वीरगंज, २४ जेठ/

खानेतेल अवैध तरीकाबाट भारत निकासी भइरहेको भारतीय उद्योगीले लगाएको आरोप निराधार रहेको नेपाली उद्योगीहरूले बताएका छन्। वीरगंजका उद्योगी–व्यवसायीले भारतीय पक्षले लगाएको आरोपको खण्डन गर्दै नेपाल र नेपाली व्यवसायीको मानमर्दन गर्न यस्तो आरोप लगाएको बताएका छन्। वीरगंजका उद्योगपति जगदीश अग्रवालले यस्तो आरोप हावादारी र पुरानै कहानी भएको आरोप लगाए।

भारतमा खानेतेलको भाउ बढाउन र नेपालबाट हुने निकासीमा प्रतिबन्ध लगाउन भारतीय उद्योगी–व्यवसायीले सरकारसमक्ष लबिङ गरिरहेको चर्चा गर्दै उनले उनीहरूले नेपालबाट हुने खानेतेलको निर्यातबारे फेरि प्रोपोगन्डा शुरू गरेको विश्लेषण गरे।

मे ३१ मा इक्नोमिक्स टाइम्समा छापिएको एउटा समाचारमा भारतीय खानेतेल उत्पादन गर्ने उद्योगीहरूको एउटा सङ्गठनले नेपालबाट भटमास र सूर्यमूखी तेल अवैधरूपमा भारत निकासी भइरहेकोले केन्द्रीय सरकारको ध्यानाकर्षण गराउन र नेपालबाट निर्यात हुने तेलमा प्रतिबन्ध लगाउन अपील गरेको थियो।

भारतमा सोयाबिन तेल उत्पादन गर्ने सङ्गठन, सोल्भेन्ट एक्सट्र्याक्टर्स एशोसिएशनले केन्द्रीय सरकारलाई पत्राचार गर्दै नेपालबाट हुने खानेतेल पैठारीले उत्तरी र पूर्वी भारतका किसान तथा भारतीय उद्योगलाई गम्भीर असर परेको र भारत सरकारलाई ठूलो

राजस्व घाटा लागिरहेको दाबी गरेको थियो। पत्रमा भारतमा नेपालबाट निकासी हुने तेल ओरिजिन अफ कन्ट्रीको नियम मिचेको आशङ्कायुक्त दाबी पनि गरिएको थियो।

भारतीय उद्योगीहरूले नेपालमा खानेतेलको पर्याप्त मात्रामा प्रशोधन गर्ने उद्योग वा प्लान्ट नरहेको र मलेसिया र दक्षिण अमेरिकी मुलुकबाट रिफाइन तेल नै मगाएर रिप्याकिङ गरी भारत निकासी गर्नु नेपाल–भारत व्यापार सन्धिविपरीत रहेको र ओरिजिन अफ कन्ट्रीको नियम मिचिएको दाबी गरेका थिए।

यसै सन्दर्भमा निम्बस समूहका सञ्चालक समितिका अध्यक्षसमेत रहेका उद्योगपति जगदीश अग्रवालले खण्डन गर्दै भनेका छन्– “भारतलाई जुन बेला जुन चीज नेपालको बाटो चाहिएको हुन्छ, पैठारी गर्न आफ्नो नियममा फेरबदल गरी मज्जाले मगाउँँछ, उसको इन्टेरेस्ट मरेपछि हामी खराब भइहाल्छौं।” उनले करीब ५ वर्षदेखि नेपालबाट भारतमा खानेतेलको निकासी भइरहेको बताए। साथै नेपालमा विश्वस्तरीय खानेतेल प्रशोधन गर्ने उद्योगहरू छन्।

नेपाल सरकारलाई करीब ४ दर्जन उद्योग कस्तो मापदण्डका छन् र कच्चा तेल मगाएर प्रशोधन गरेर भारत पठाउँछन् भन्ने थाहा छ। नेपाली उद्योगलाई तेल निकासीको लागि नेपाल उद्योग वाणिज्य महासङ्घले ओरिजिन अफ कन्ट्री दिने गरेको छ भने वाणिज्य विभागले त्यसको नियमन र सहयोग गर्ने गर्छ। उनले नेपालबाट निकासी हुने तेल साफ्टा सम्झौता अनुसार नियमसङ्गत रहेको बताए।

विदेशबाट प्रशोधित खानेतेल होइन, कच्चा तेल (क्रूड आयल) आयात गरी प्रशोधन गरी ३० प्रतिशत मूल्य बढाएर भारत निकासी गर्ने गरेको उनले स्पष्ट पारे।

वीरगंजका अर्का उद्योगी सुरेश रूँगटाले भारतीय उद्योगीको यस्तो आरोप निन्दनीय भएको टिप्पणी गरे। उनले नेपालमा ब्रजील, अमेरिका, युक्रेनलगायत देशबाट खानेतेलका गेंडागुडी र कच्चा तेल आउने बाटो भारतको कोलकाता बन्दरगाह भएको स्पष्ट पारे। उनले आजसम्म फलानो उद्योग वा उद्योगीले रिफाइन तेल मगाएर रिप्याक गरी पठाएको घटना सार्वजनिक नभएको बताए।

उनले भने– “सबै कच्चा तेल कोलकाता र विशाखापट्टनम बन्दरगाह भएर आउँछ, त्यहाँ भारतीय भन्सार विभागका कार्यालयहरू छन्, उनीहरूलाई चेक गर्ने अधिकार छ, रिफाइन तेल ल्याएको एउटा केस आजसम्म किन भेटिएन ?” ओसिबी फूड एन्ड फिड प्रालिका सञ्चालक रूँगटाले नेपाली खानेतेल भारत खानेतेलभन्दा ४० रुपियाँ प्रतिलिटर सस्तो परिरहेकोले भारतीय उद्योगीहरू आफ्नो तेलको भाउ बढाउन यस्तो खेलमा लागेको आरोप लगाए। भारतीय सोयाबिन तेल लिटरको अहिले १८० भारु पर्छ भने नेपालबाट गएको तेलको भारु जम्मा १४० पर्छ।

वीरगंजका अर्का उद्योगी निखिल चाचानले भारतीय पक्षलाई नेपालले जवाफ दिएको बताए। नेपाल घ्यू तेल एशोसिएशनको आग्रहमा वाणिज्य सचिव प्रदीप भट्टराईले आरोपको खण्डन गर्दै नेपालबाट भारतमा खानेतेलको निर्यात नेपाल–भारत व्यापार सन्धि अन्तर्गत नियम अनुसार भइरहेको बताए। एशोसिएशनका सदस्य तथा चाचान समूहको नारायणी आयल रिफाइनरी उद्योगका सञ्चालक चाचानले नेपालमा विदेशबाट कच्चा तेल आयात गर्दा १० प्रतिशत भन्सार महसूल मात्र लाग्छ।

रिफाइन तेल मगाउँदा १५ प्रतिशत भन्सार महसूल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर जोडेर २८ प्रतिशत राजस्व तिर्नुपर्छ। त्यसमा ढुवानी र नाफा जोडेर गैरकानूनी किसिमले यहाँका उद्योगीले किन तेल पठाउँछन् ?  कच्चा तेल आयात गरी प्रशोधन गर्दा सरकारले लिएको १० प्रतिशत भन्सार महसूल पनि फिर्ता हुन्छ। ल्याएको मूल्यमा ३० प्रतिशतभन्दा बढी मूल्य थपेर भारत निकासी हुन्छ।

वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष प्रदीप केडियाले वनस्पति घ्यू निर्यात भइरहेको बेलामा पनि भारतले प्रतिबन्ध लगाएको थियो। हाल भारतको मलेसियासँग विवाद हुँदा मलेसियाबाट तेल आयात रोक्न भारतमा ४० प्रतिशत भन्सार महसूल लगाइएयो छ। त्यसपछि नेपालबाट पाम तेल भारत गयो। त्यति बेला भारतलाई आवश्यकता थियो, पछि प्रतिबन्ध लगायो। अहिले नेपालबाट सोयाबिन तेल आवश्यक छ, गइरहेको छ, जब उसको माग पूरा हुन्छ, बन्द हुन्छ। आफ्नो देशको उद्योगधन्दा र किसानको संरक्षण कुनै पनि सरकारको दायित्व हो। भारतबाट नेपालमा रु ७ खर्बको सामान आयात हुन्छ तर रु १ खर्बको तेल भारत निकासी भयो भन्दैमा ठूलो मुद्दा नबनाउन उनी भारतलाई सुझाव दिन्छन्। “उसको सबै सामान हामीले किन्ने, हाम्रो प्रोडक्ट गैरकानूनी हुने ?” उनको तीव्र प्रतिक्रिया थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here