प्रस, पर्सागढी, २४ जेठ/

पर्सागढी नगरपालिकासँग जोडिएको वनक्षेत्रमा अतिक्रमण गरी सयौंको सङ्ख्यामा घर निर्माण भएपनि त्यसमध्ये एकजनाको घर मात्र हटाउनको लागि अहिले वन कार्यालय लागेको छ।

वन कार्यालय लाग्नुको कारणमा मुख्य व्यक्ति जमदार मित्रदेव चौधरी हुन्। सबडिभिजन वन कार्यालय मधुवन मथवल बडनिहारमा कार्यरत चौधरीले तीन धुर नम्बरी जग्गा खरीद गरेर वडा नं ३ मा वनको जग्गा अतिक्रमण गरी थुप्रै घर बनाएका छन्। उनले अतिक्रमण गरेर बनाएको घरपछाडि लालबाबू ठाकुर भन्नेले घर बनाएका छन् र उनलाई त्यहाँबाट हटाउन चौधरीले पदको दुरुपयोग गरी दबाब दिंदै आएका हुन्। ठाकुरलाई चौधरीले बारम्बार धम्क्याउने, डिभिजन वन कार्यालय, सबडिभिजन वन कार्यालय र प्रहरीसमेतबाट डर, धम्की दिन लगाइ सो ठाउँ छाड्न दबाब दिने गरेको ठाकुरकी पत्नीले बताइन्। उनले डर, धाक–धम्कीकै कारण अहिले पति राति घरमा सुत्न छाडेको बताइन्। चौधरीले बारम्बार उनलाई धम्काउँदै आएका थिए।

पर्सागढी नगरपालिका–३ झबराहा, बडनिहार, धुलीडाड, वीरगंज महानगरपालिका–३१, रामवन क्षेत्रमा सयौंको सङ्ख्यामा वन अतिक्रमण गरी घर बनेका छन्। वनक्षेत्रमा अनधिकृतरूपमा बनेका घर भत्काउनको लागि डिभिजन वन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा धेरैपटक उजूरी पनि परेको छ तर अहिलेसम्म अनधिकृत घर हटाउनेतर्फ पहल गरिएको छैन। जमदार चौधरीले भने आफ्नो स्वार्थको लागि ठाकुर परिवारको खोइरो खन्दै आएका छन्।

ठाकुरले सो क्षेत्रमा वन अतिक्रमण गरी घर बनाएका छैनन्, जमदार चौधरीले पनि वन अतिक्रमण गरी घर बनाएका छन् र उनीसँगै सयौं परिवारले वन अतिक्रमण गरी घर बनाइ बसेका छन्। तर वनक्षेत्र अतिक्रमण गरेको भनी ठाकुरलाई मात्र हटाउन खोज्नुले चौधरीको बदनियत प्रस्ट हुन्छ।

यस सम्बन्धमा डिभिजन वन कार्यालय, पर्साका निमित्त प्रमुख वन अधिकृत फरमान मियाँले नयाँ घर निर्माण भइरहेको भन्ने उजूरीको आधारमा जिल्ला प्रशासन कार्यालय पर्साको पत्रबाट ठाकुरको घर हटाउन निर्देशन जारी भएको बताए। उनले पुरानो अतिक्रमणविरुद्ध हाल कारबाई अगाडि नबढेको भन्दै नयाँ घर बन्न रोक लगाइएको बताए। तर ठाकुरको घर जमदार चौधरीसँगै बनेको पुरानो घर हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here