प्रस, निजगढ, २२ जेठ/
बाराको मधुवन क्षेत्रको ककरी नाका पूर्वबाट अवैध गोलियासहित साइकल बरामद भएको छ ।
पन्ध्र/बीस जनाको समूहमा रहेका काठ चोर तस्कर समूहले ९ वटा साइकलमा ९ थान सालको हरियो गोलिया ल्याउँदै गर्दा नियन्त्रणमा लिएको ककरी वन रेन्जपोस्टका इन्चार्ज फरेस्टर मुकेशकुमार दासले बताए । बरामद गरिएका सो गोलिया ४९.६२ क्यूफिट रहेको छ ।
फरेस्टर दास नेतृत्वको सशस्त्र वन कर्मचारीहरूको टोलीलाई चोर तस्करको समूहले देखेपछि उनीहरू फरार भएको जनाइएको छ । जुगुवा गाउँको पश्चिम टाँगियाबस्तीको दक्षिणी क्षेत्रमा गएराति ९ बजे बरामद भएको हो ।
बरामद गोलियाको मोटाइ ५४ इन्च रहेको जनाइएको छ । फरार अभियुक्तहरूको खोजी तीव्र पारिएको डिभिजन वन कार्यालय बाराले जनाएको छ । लकडाउनको मौका छोप्दै बाराको वनक्षेत्रमा काठ चोरी तस्करीका घटना बढेको छ ।