प्रस, वीरगंज, १९ जेठ/
वीरगंज महानगरपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग १ लाख कोभिडविरुद्धको खोप माग गरेको छ।
यसअघि मन्त्रालयसँग महानगरले खोप खरीदको लागि इजाजत माग गर्दा मन्त्रालयले खोप खरीद गर्ने जिम्मेवारी सङ्घीय सरकारको भएको भन्दै इजाजत नदिए पनि नगरप्रमुख सरावगीले आज पत्र लेख्दै १ लाख खोप माग गरेका हुन्। उनले वीरगंज महानगरपालिका देशको प्रमुख प्रवेशद्वारका साथै प्रमुख भन्सार नाका पनि भएकोले यो क्षेत्र भएर सवारी आवागमन र मानिसको आवतजावत ठूलो सङ्ख्यामा हुँदा कोरोनाको उच्च जोखिम हुने भएकोले कोभिडविरुद्ध १ लाख खोप उपलब्ध गराउन आग्रह गरेका हुन्।
उनले वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा ११५ वटा उद्योग प्रतिष्ठान रहेका र त्यहाँ कार्यरत मजदूरहरूलाई समेत खोप दिनुपर्ने भएकोले महानगरपालिकालाई १ लाख खोप उपलब्ध गराउन आग्रह गरेका हुन्। उनले सरकारबाट उपलब्ध हुने खोप शिक्षक, कर्मचारी, विद्यार्थी, बैंककर्मी, मजदूरलगायतलाई उपलब्ध गराउने बताए।