प्रस, वीरगंज, १९ जेठ/

निषेधाज्ञाको कारण वीरगंज महानगरपालिकामा पनि सामाजिक सुरक्षा भत्ता वितरण कार्य प्रभावित भएको छ।

निरन्तर निषेधाज्ञा जारी भइरहेको कारण बैंकहरूले सामाजिक सुरक्षा भत्ता वितरणमा चासो देखाएका छैनन्। वीरगंज महानगरपालिकाले १० दिनअगावै सामाजिक सुरक्षाबापतको रकम तोकिएको बैंकको खातामा पठाइसकेको छ। तर बैंकहरूले भने जनशक्ति कम भएको भन्दै सामाजिक सुरक्षा भत्ता पाउने खातावालको खातामा रकम दाखिला गरेको छैन। जसले गर्दा अहिले वितरण प्रणाली रोकिएको छ।

वीरगंज महानगरपालिकामा १२ हजारभन्दा बढीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ। महानगरका पुराना वडाहरूमा नेपाल बैंक लिमिटेड, लक्ष्मी बैंक र कृषि विकास बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएको छ। नेपाल बैंक लि., सिटी अफिसले सामाजिक सुरक्षा भत्ता खातामा दाखिला नभएको कारण वितरण हुन नसकेको जनाएको छ। जनशक्ति अभावले खातामा रकम दाखिला हुन नसकेको सो बैंकले जनाएको छ। निषेधाज्ञा भएपनि सामाजिक सुरक्षा भत्ता बैंकमा आएको भनेर दिनहुँ बैंक धाउने वृद्धवृद्धा, अपाङ्ग, एकल महिलाहरू रित्तै फर्किने गरेका छन्।

ग्रामीण क्षेत्रमा पनि यही समस्या छ। जनशक्ति अभावमा बैंकले एउटै वडाका सामाजिक सुरक्षा भत्ता पाउनेहरूलाई हप्तौंसम्म वितरण गर्दै आएको छ। ग्रामीण क्षेत्रमा बिस्तारै भएपनि सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ भने महानगरका बैंकहरूले सो प्रक्रिया शुरू गर्न सकेका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here