भक्तपुर, १८ जेठ/रासस
दोस्रो लहरको कोभिड–१९ महामारीका कारण सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन नगर्ने भएको छ। सोमवार अबेर बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीका कारण यस वर्ष एसइई नगर्ने निर्णय गरेको हो। एसइईको नतीजा गत वर्षजस्तै आन्तरिक मूल्याङ्कन विधिबाट सार्वजनिक गरिने भएको छ।
कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्न सकिने अवस्था नरहेको, विद्यालयलाई परीक्षा सञ्चालन गर्न दिंदा विद्यार्थीमा सङ्क्रमण सर्न सक्ने खतरा अत्यधिक रहेको र अनलाइनबाट परीक्षा सञ्चालन गर्दा एसइईमा सहभागी हुने सबै विद्यार्थीमा प्रविधिको पहुँच नपुग्ने भएकोले गत वर्षजस्तै आन्तरिक मूल्याङ्कनबाट नतीजा सार्वजनिक गर्ने निर्णय सरकारले गरेको शिक्षा मन्त्रालयले जानकारी दिएको छ।
कोभिड सङ्क्रमण बढ्दै गएको र बालबालिकालाई थप जोखिम हुने खतरा रहेकोले गत वर्षकै प्रक्रियालाई निरन्तरता दिंदै एसइईको आन्तरिक मूल्याङ्कनबाटै नतीजा सार्वजनिक गर्ने निर्णय सरकारले गरेको हो। मन्त्रालयले सरकारको निर्णय कार्यान्वयनका लागि राष्ट्रिय परीक्षा बोर्डलाई परिपत्र गर्ने भएको छ।
बोर्डले यस वर्ष जेठ १३ गतेदेखि एसइई भौतिकरूपमैं सञ्चालन गर्ने परीक्षा तालिका सार्वजनिक गरे पनि कोभिड महामारीका कारण वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको र बालबालिकामा सङ्क्रमण बढेपछि सरकारले वैशाख २७ गते एसइई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। त्यसपछि बोर्डले एसइई सञ्चालन गर्नेबारे शिक्षा विभागका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलले परीक्षाका लागि चारवटा विकल्प प्रस्तुत गरेको थियो।
एउटा गत वर्षजस्तै आन्तरिक मूल्याङ्कन, दोस्रो विद्यार्थीलाई प्रश्नपत्र दिएर अनलाइनबाट परीक्षा दिलाउने, तेस्रो भौतिक दूरी कायम गर्दै बोर्ड आफैंले सञ्चालन गर्ने वा विद्यालयलाई परीक्षा सञ्चालनको जिम्मा दिने र चौथो भारतजस्तै परीक्षा नै नगरी आन्तरिक मूल्याङ्कन गर्ने र कक्षा ११ को प्रवेश परीक्षामा कडाइ पार्दै विद्यार्थीले कक्षा १२ को परीक्षा दिंदा कडाइ गर्ने विकल्प पेश गरेको बोर्डले जानकारी दिएको छ।
यस वर्ष बोर्ड र प्याब्सनका केही पदाधिकारीले भने विद्यालयलाई परीक्षाको जिम्मा दिनेगरी निर्णय गर्न जोड दिएका थिए, तर विद्यालयलाई जिम्मा दिंदा विद्यार्थीमा सङ्क्रमण फैलिए त्यसको जिम्मेवारी को हुने भन्ने सवाल खडा भएको बताइएको छ। यस वर्ष देशभरिबाट करीब पाँच लाख १७ हजार विद्यार्थी एसइईको तयारी गर्दैछन्।
गत वर्ष कोरोना महामारीका कारण एसइईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा बोर्डले नतीजा दिएको थियो।