प्रस, पर्सागढी, १६ जेठ/
सबडिभिजन वन कार्यालय मधुवन मथवल, बडनिहारमा कार्यरत जमदार अर्जुन चौधरीले रवाना नबुझेर अटेर गर्दै आएका छन्।
दुई साताअगाडि सो कार्यालयमा कार्यरत पाँचजनाको सरुवा भएको थियो। जमदार अमर सिंह, फरेस्टर सुरेश कोइरी, वनरक्षक रामविलास ठाकुर, हरिन्द्र ठाकुर र जमदार अर्जुन चौधरीको सरुवा भएकोमा चारजनाले रवाना बुझेर सरुवा भएको ठाउँमा हाजिर भएका छन् तर चौधरीले अहिलेसम्म रवाना बुझेका छैनन्। उनी कार्यालयमा अहिले पनि हाजिरी गरेर बसेका छन्।
चौधरीको घर पर्सागढी नगरपालिका–३ बडनिहारमा छ, जहाँ सबडिभिजन कार्यालय छ। स्थानीय भएको कारण उनको काठ तस्कर र अवैध फर्निचर उद्योगसँग साँठगाँठ छ। यही कारणले यहाँबाट उनी अन्यत्र सरुवा लिएर जाँदैनन्। चौधरीको अवैध संलग्नताबारे विभिन्न सञ्चारमाध्यममा पटक–पटक समाचार प्रकाशन भइसकेको छ। लामो समयदेखि चौधरी सोही कार्यालयमा ड्युटी गर्दै आएका छन्। उनको सरुवा यसअघि भएपनि रवाना नबुझेर सोही ठाउँमा बस्दै आएका छन् र यसपटक पनि उनले रवाना बुझेनन्।
सहायक वन अधिकृत सुरेश भगतले चौधरीको डिभिजन वन कार्यालय पर्सामा सरुवा भएको तर हालसम्म रवाना नबुझेको बताए। उनले रवाना नबुझेका चौधरीलाई भने कार्यालयमा हाजिर गराएर बसाएका छन्।