प्रस, जनकपुरधाम, १६ जेठ/
प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरधामको सुधारको लागि उच्चस्तरीय तीन सदस्यीय समिति गठन गरेको छ।
अस्पतालको समग्र सेवा सुविधासम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले समिति गठन गरेको हो। जनगुनासो बढेपछि मुख्यमन्त्री लालबाबूराउत गद्दीले अस्पतालको अवस्थाबारे जानकारी लिन बैठक बोलाएका थिए। बैठकमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलगायतका चिकित्सकले अस्पतालको समस्या र समाधानका उपायबारे धारणा राखेका थिए।
चिकित्सकहरूको सुझावहरू सङ्कलन गर्दै अस्पताल सुधारका भावी कार्ययोजनासम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठ र प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा सदस्य रहेको उक्त समितिलाई अस्पतालका वरिष्ठ चिकित्सकको सल्लाहमा प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ। चार दिन समयसीमा पाएको समितिले अस्पतालको उपचार, कर्मचारी व्यवस्थापन, प्रतिष्ठान अन्तर्गत गएपछि गरिनुपर्ने संरचनागत परिवर्तनलगायत अन्य सुविधालाई समेटेर प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ।
बैठकमा प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, सचिव यमप्रसाद भुषाल, सामाजिक विकास मन्त्रालयका सचिव श्रेष्ठ, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सञ्जय सिंह, आपूर्ति महाशाखाका निर्देशक डा प्रमोदकुमार यादव, अस्पतालका मेसु डा प्रमोद यादवलगायतको सहभागिता थियो।