प्रस, महोत्तरी, १६ जेठ/
महोत्तरीको रामगोपालपुर नगरपालिका–९ गोठबनौलीमा खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ।
रामकरण मण्डलका १० वर्षीय छोरा आशिक कुमार र नौ वर्षीय प्रेम कुमारको खाल्डोमा डुबेर मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ।
एमपिएस इँटा उद्योगले माटो झिक्न खनेको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिवार साँझ वर्षाको पानी जम्मा भएको खाल्डोमा डुबेका दाजुभाइलाई देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लगेका थिए। त्यहाँबाट थप उपचारका लागि जिल्ला अस्पताल जलेश्वर ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
शव शल्यपरीक्षणका लागि जलेश्वर अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।