प्रस, परवानीपुर, १४ जेठ/
इलाका प्रहरी कार्यालय प्रसौनी, नौतन, गण्डक बाराले आर्थिक प्रलोभनमा परी चारजना चोरलाई पक्राउ गरेको एक सातापछि मुद्दा नचलाएर रिहा गरेको घटना सार्वजनिक भएको छ ।

पक्राउ गरेको एक सातापछि हिजो बिहीवार दिउँसो ३ बजे चोरहरूलाई रिहा गरिएको स्रोतले जनाएको छ । प्लास्टिकको बोरा उत्पादन गर्ने प्रसौनी गाउँपालिका-६ स्थित जयपशुपतिनाथ इम्पेक्स प्रालिमा गत चैत १४ गते राति करीब रु १२ लाखबराबरको प्लास्टिकको दाना चोरी घटनामा इलाका प्रहरी कार्यालय प्रसौनी, नौतन, गण्डक बाराले जेठ ७ गते चारजना चोरलाई पक्राउ गरेको थियो । सो चोरी घटनामा पाँचजना आरोपी थिए, जसमा प्रहरीले चारजनालाई मात्र पक्राउ गर्न सकेको थियो ।

उद्योगका कर्मचारी, मजदूर, ट्याक्टर चालकको मिलेमतोमा भएको यो चोरीकाण्डमा एक साताअघि मात्र वीरगंज-१५ प्रतिमाचोकमा एक व्यवसायीलाई बिक्री गर्दा सन्नीकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले निजबाट अन्यको नाम ठेगाना पत्ता लगाएर मुनिल कुमार, विक्की प्रसाद, रामजी प्रसाद र शुभम पाण्डेलाई पक्राउ गरेको थियो । चोरी घटनामा एकजना अझै फरार छन् ।

चोरीको घटनामा दसी प्रमाणसहित पक्राउ परेका चोरहरूलाई छाडिएको सम्बन्धमा इलाका प्रहरी कार्यालय प्रसौनी, नौतन, गण्डक बाराका प्रमुख प्रहरी निरीक्षक विन्देश्वर यादवले उद्योग पक्षबाट जाहेरी नआएको र उद्योगले आन्तरिकरूपमा समाधान गरी मिलाउने भनेपछि छाडिएको गैरजिम्मेवार जवाफ दिए । तर उद्योगका सञ्चालक तुलसी रौनियारले भने घटनालगत्तै किटानी लिखित जाहेरी दिएको दाबी गरे ।

यसबारे बारा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र शाहीसँग बुझ्दा उनले आफूले पनि चोरहरू छुटेको हल्ला सुनेको र यसबारेमा बुझ्दा आफूलाई तारिखमा छाडेको बताएको भन्दै अनुसन्धान अगाडि बढाउने र दोषीमाथि कारबाई गरिने आश्वासन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here