धर्मेन्द्र चौरसिया, पोखरिया, १० जेठ/

विद्यालय बन्द भएको तीन/चार महीना बित्दा पनि पर्साको ग्रामीण क्षेत्रका विद्यालयहरूले वैकल्पिक शिक्षाको व्यवस्था गर्न सकेका छैनन्।

जिल्लाभरि कमजोर अवस्थामा भएपनि इन्टरनेट सेवा पुगेको छ। सम्पन्न बालबालिकाहरू अहिले मोबाइलमा पबजी खेलेर दिन बिताउँदै छन्। त्यहीं आर्थिकरूपमा कमजोर बालबालिकाहरू भने घरपरिवारका सदस्यहरूलाई व्यापार र घरायसी, कृषि काममा सघाउँदै आएका छन्।

कतिपय बालबालिका अहिले विद्यालय बन्द भएपछि आमाबुबाले गर्दै आएको व्यापारमा सघाउँदै आएका छन्। साइकलमा घुमेर तरकारी बेच्ने, पसलमा सुर्ती बेच्ने, बाख्रा चराउने, माछा मार्ने, पसलमा सघाउने, घरमा खाना पकाउने, भाइबहिनीहरूको हेरचाह गर्ने र खेतीपातीमा सघाउनेजस्ता काम गर्दै आएका छन्।

थोरै सङ्ख्यामा खेलकूद, क्रिकेट, फूटबलमा साँझपख बालबालिकाहरू रुमल्लिने गरेका छन् भने केही बालबालिकाहरू सुर्तीजन्य पदार्थको विकृतिमा फसेका छन्। तीन महीना अवधिसम्म बालबालिकाहरू विद्यालय जान छाडेपछि ग्रामीण क्षेत्रमा यो अवस्था देखा परेको हो। वीरगंज महानगरका केही विद्यालयमा अनलाइन कक्षा सञ्चालन रहे पनि १३ वटा पालिकामा अनलाइन कक्षा सञ्चालनमा आउन सकेको छैन। तीनवटा नगरपालिका र दशवटा गाउँपालिकाले अहिलेसम्म वैकल्पिक शिक्षाको बारेमा छलफलसमेत गरेका छैनन्।

पकाहामैनपुर गापाका अध्यक्ष विजय चौरसिया वैकल्पिक शिक्षाको बारेमा अहिलेसम्म कुनै सोच अगाडि नबढेको बताउँछन्। उनले गापाका अधिकांश बालबालिकाको पहुँच इन्टरनेट र मोबाइलमा नपुगेको हुँदा गापाले पनि वैकल्पिक शिक्षा प्रदान गर्ने कुरामा सोच अगाडि बढाउन नसकेको बताए।

जिल्ला उच्चाङ्गल रामदेव कलवार माविका प्रअ विनोद चौधरीले नगरपालिकाले वैकल्पिक शिक्षाको बारेमा अहिलेसम्म छलफल नगरेको बताए। उनले नगरपालिकाको शिक्षा शाखाले परीक्षाफल प्रकाशित गर्ने सम्बन्धमा कुन नीति अख्तियार गर्ने भन्नेबारेमा पनि निर्णय नगरेकोले अन्योलको वातावरण भएको बताए। आफूहरू गत वर्षसरह नै यस वर्ष पनि आन्तरिक मूल्याङ्कनबाट परीक्षाफल प्रकाशित गर्ने अवस्था आइपर्ने हुनाले तयारीमा रहेको बताए।

प्रअ चौधरीले नगरपालिकामा इन्टरनेटको पहुँच भएका र मोबाइल, ल्यापटप, कम्प्युटर भएका विद्यार्थीहरूलाई अनलाइन कक्षा सञ्चालन गर्न सकिने भए तापनि त्यसतर्फ नगरपालिकाले कुनै पहल, निर्देशन नगरेको बताए। लामो समयसम्म विद्यार्थीहरू शिक्षाबाट वञ्चित हुँदा सिकेका कुरा पनि बिर्सिने उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here