प्रस, वीरगंज, १० जेठ/
आइतवार अबेर राति र सोमवार बिहान गरी वीरगंजका अस्पतालमा सातजना सङ्क्रमितको मृत्यु भएको छ। नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले नारायणी अस्पतालमा ६ जनाको मृत्यु भएको बताए।
बारा जिल्लाका ४० वर्षीय पुरुषको राति साढे ११ बजे मृत्यु भएको बताए। उनी वैशाख २९ गते अस्पतालमा भर्ना भएका थिए।
यसैगरी, बहुदरमाई नगरपालिका–२ बहुअर्वाभाठा निवासी ७० वर्षीय पुरुषको सोमवार बिहान पौने १ बजे मृत्यु भएको थियो। सङ्क्रमित जेठ ८ गते अस्पतालमा भर्ना भएका थिए।
वीरगंज महानगर–३२ चोर्नी निवासी ३५ वर्षीय पुरुषको बिहान ५ बजे मृत्यु भएको छ। वैशाख ३० गते सङ्क्रमित भएपछि उनी अस्पतालमा भर्ना भएका थिए।
त्यस्तै, सर्लाही जिल्ला, सोल्टी नगरपालिका–८ निवासी ५२ वर्षीय पुरुषको बिहान पौने ७ बजे मृत्यु भएको संयोजक डा दासले बताए। सङ्क्रमित पुष्टि भएपछि जेठ ३ गते उनी भर्ना भएका थिए।
यसैगरी, बारा, गङ्गापुर निवासी ६० वर्षीय पुरुषको बिहान १० बजे निधन भएको छ। वैशाख ३० गते सङ्क्रमण पुष्टि भएपछि उनी ३१ गते अस्पताल भर्ना भएका थिए।
यसैगरी, सर्लाही ईश्वरपुरका ६२ वर्षीय पुरुषको आज दिउँसो ३ः२० बजे मृत्यु भएको छ। सङ्क्रमित भएपछि उनी जेठ ४ गते नारायणी अस्पतालमा भर्ना भएका थिए।
यसैगरी, पोखरिया नगरपालिका–५ का ७० वर्षीय पुरुषको वीरगंज हेल्थकेयर अस्पतालमा मृत्यु भएको छ। बिहान ६ बजे उनको मृत्यु भएको हो। २ गते सङ्क्रमित भएका र उनी सो अस्पतालमा जेठ ९ गते भर्ना भएका थिए।
यसैबीच, आइतवार राति नारायणी अस्पतालको पिसिआर परीक्ष्Fण रिपोर्टले ४३ जना सङ्क्रमित पुष्टि गरेको छ। १९२ जनाको स्वाब परीक्षण गरिएकोमा पर्साका १९, बाराका १२, सर्लाहीका ९, रौतहटका २ र धनुषाका १ जना गरी ४३ जना सङ्क्रमित पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा दासले बताए। उनीहरूको उमेर ९ देखि ७४ वर्ष छ र सिटी भ्यालू १५ देखि ३५.२ रहेको छ।