प्रस, वीरगंज, १० जेठ/
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीको उल्टो पुतला झुन्ड्याएर विरोध प्रदर्शन गरिएको छ। वीरगंजमा संयुक्त विद्यार्थी मोर्चा, ठाकुरराम बहुमुखी क्याम्पसले सोमवार साङ्केतिक विरोध प्रदर्शन गर्न यस्तो गरेको हो। क्याम्पसको मूल गेटमा प्रधानमन्त्री र राष्ट्रपतिको पुतला झुन्ड्याइएको थियो।
उल्टो झुन्डिएको पुतला नजीकै संसद् विघटन खारेज गर, प्रतिगमनलाई अन्तिम धक्का, केपी/विद्या मुर्दाबादलगायतका नाराहरू लेखिएका प्लेकार्ड टाँसिएका थिए।
हिजो मात्र ठाराब क्याम्पसमा आबद्ध प्रमुख चार विद्यार्थी सङ्गठन नेविसङ्घ, अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन र अनेरास्ववियुले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिगमनविरुद्धको आन्दोलनमा सबै एकजुट हुन अपील गरेको थियो। सोकै निरन्तरतामा आज उल्टो पुतला प्रदर्शन गरिएको हो।
आन्दोलनको सुरुआत भएको र आगामी रणनीतिसहित प्रतिगमन परास्त गरेर छाड्ने रणनीतिमा विद्यार्थी मोर्चा रहेको नेविसङ्घ एकाइ अध्यक्ष मनोज साहले बताए।