प्रस, परवानीपुर, १० जेठ/
केपीशर्मा ओलीले नेतृत्व गरिरहेको सरकारमा जाने वा नजानेबारेमा अहिलेसम्म जनता समाजवादी पार्टीको कुनै आधिकारिक निर्णय नभएको जसपाका नेता लक्ष्मणलाल कर्णले स्पष्ट पारेका छन्।
जसपा कार्यकारिणी समिति सदस्यसमेत रहेका नेता कर्णले विभिन्न सञ्चारमाध्यममा जसपाका महन्थ र महतो पक्षधर नेताहरू १० वटा मन्त्रालय लिएर एक/दुर्ई दिनमैं सरकारमा जाने समाचारको खण्डन गर्दै उनले यस्तो बताएका हुन्। “मैले पनि विभिन्न सामाजिक सञ्जालमा फलानो मन्त्री बन्न लागेको, राजेन्द्र महतोको नेतृत्वमा २ राज्यमन्त्री र ८ मन्त्री पाउनेगरी जसपाका नेताहरू सरकारमा गइरहेको समाचार पढेको छु,” उनले भने, “बडो दुर्भाग्य छ, आधिकारिक निर्णय भएको छैन, पहिले अन्दाजकै भरमा समाचार आइहाल्छ।” उनले जसपाको कार्यकारिणी समितिको बैठकबाट हालसम्म सरकारमा जाने र गइहाले को को जाने भन्नेबारेमा निर्णय नभएको बेला यस्तो भ्रामक समाचारले जनतामा भ्रम छरेको बताए। उनले मधेसको माग पूरा गराउने विषयमा सरकार सकारात्मक रहेको र माहोल बन्दै गएपछि र आधिकारिक निर्णय भयो भने मात्र सरकारमा जाने र मन्त्री बन्ने अवस्था आउँछ। अहिले नै सरकारमा गइहाल्ने अवस्था छैन। उनले दुर्ई चरणमा गरी १८ मुद्दामा १४० जनामाथिको मुद्दा फिर्ता भएको, नागरिकता ऐन संशोधनको लागि अध्यादेश जारी भएको, संविधान संशोधनको लागि कार्यदल बनेको जस्ता सरकारको कदमले जसपाले हालको सरकारलाई सहयोग गरिरहेको उनले बताए।
जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले महन्थ–राजेन्द्र पक्ष सरकारमा गयो भने कारबाई गर्ने जनाएको छ। जसपाका संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा शरत्सिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, सर्वेन्द्र शुक्ला, लक्ष्मणलाल कर्ण, प्रमोद साह, उपेन्द्र–बाबुरामबाट महन्थ पक्षमा आएका विमल श्रीवास्तव, उमाशङ्कर अरगरिया, चन्दा चौधरी, उपेन्द्र यादव पक्षकै रुही नाज, कलुदेवी विश्वकर्मा र रेणुका गुरुङमध्ये ८ मन्त्री र २ राज्यमन्त्री लिएर जसपाको महन्थ–राजेन्द्र पक्षका नेताहरू सरकारमा गइरहेको सञ्चारमाध्यममा खबरहरू आएका थिए।